कर्पोरेट

चितवन को–ई प्रालिले मनकामनामा ४५ करोड बढी लगानीमा चारतारे रिसोर्ट बनाउँदै

Banner

चितवन, भदौ १३-

चितवनबाट सन् १९६६ मा सुरु भएको चितवन कोे–ई प्रालिले गोरखाको मनकामना मन्दिर डाँडामा चारतारे रिसोर्ट निर्माण गरिरहेको छ ।

मनकामना पुग्ने दर्शनार्थीलाई लक्षित गर्दै मन्दिर छेउमै रिसोर्ट बनाइरहेको हो ।

चितवनका व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले सन् १९६६ मा स्थापना गरेको ‘चितवन कन्सट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि’ ले चितवनबाट नै पहिलो निर्माणको काम सुरु गरेपछि देश तथा विदेशमा यसको लोकप्रियता बढ्दै गएको हो । कम्पनीले अहिले मनकामना केबल कार, हाइड्रो, डेरी, पर्यटन, होटल र घर जग्गा क्षेत्रमा लगानी गरिहेको छ ।

मनकामनामा अहिलेसम्म रिसोर्टको ४० प्रतिशत निर्माणको काम सकिएको कम्पनीले जनाएको छ । मनकामना धार्मिक गन्तव्यका रूपमा मात्र परिचित भएकोले पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्न रिसोर्ट बनाउन लागेको कम्पनीले बताएको छ । रिसोर्ट निर्माण सुरू भएको पाँच महिना भयो । सन् २०२४ अन्त्यसम्म सञ्चालनमा आउने छ । सञ्चालनसँगै मनकामना दर्शनका लागि पुग्ने पर्यटकले ’टप स्टेसन’ मै स्तरीय रिसोर्टमा बस्न पाउने छन् ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको मुख्य विशेषता भनेको कोठा नै हो । पाँचतले रिसोर्टको एक तलामा ८ वटा कोठा हुने छन्। मनकामनाको डाँडामा रहेको यो रिसोर्टका हरेक कोठाबाट चारैतिरका दृश्य देखिन्छ । रिसोर्टमा कुल ४० वटा कोठा हुने छन् । ती सबै डिलक्स हुन् । विशेषगरी दर्शनार्थीका लागि लक्षित गरेकाले कोठाहरू एकै खाले बनाइएको उनले बताए । रिसोर्टमा एक रात बस्न एउटा कोठाको १० हजार रूपैयाँसम्म लाग्नेछ । यसमा बेड र ब्रेकफास्ट हुनेछ।

रिसोर्टले ६० जनालाई रोजगारी दिने लक्ष्य छ । कम्पनीले रिसोर्ट बनाउन ४५ करोड रूपैयाँ लगानी अनुमान गरे पनि लागत बढेकाले ५० करोड रूपैयाँसम्म पुग्ने आकलन छ । मनकामना केबलकार सञ्चालनमा आएको २५ वर्षपछि कम्पनीले रिसोर्ट सञ्चालनमा ल्याउन लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>