खैरहनी

खैरहनी नगरपालिकामा ४१ जनाले पाए स्वयंसेवक शिक्षक बन्ने अवसर

Banner

चितवन , भदौं ११-

चितवनको खैरहनी नगरपालिकाले ४१ जना स्वयंसेवक शिक्षकहरुलाई नियुक्त गरेको छ ।

नगरपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्नको लागि नगरपालिकाले उनीहरुलाई नियुक्ति दिएको हो ।
स्वयंसेवक शिक्षहरुलाई आज एक कार्यक्रमको बीच नियुक्ति पत्र दिएर सम्बन्धित विद्यालयमा पठाइएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाले जानकारी दिए । खैरहनीभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न र अपुग रहेको विषयगत शिक्षक परिपूर्ति गर्न स्वयंसेवक शिक्षकहरु राखिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाँले बताए । नगरपालिकाले २०७६ सालयता विषयगत, कक्षागत र विद्यार्थी संख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयहरुमा स्वयंसेवक शिक्षकहरुलाई खटाउँदै आएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरि स्वयंसेवक ंशिक्षकहरुको व्यवस्थापन गर्दै आएको छ ।

विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने विषयमा आफूहरुले कुनै सम्झौता नगर्ने भन्दै नगर प्रमुख खनियाले यस वर्ष मात्रै नगरपालिकाले करिब ८८ लाख रुपैयाँको बजेट नै विनियोजन गरेर स्वयंसेवक शिक्षकहरुलाई खटाएको बताए ।

नियुक्ति पत्र वितरण तथा स्वयंसेवक शिक्षकसँगको परिचयात्मक कार्यक्रममा नगर प्रमुख खनियाले शिक्षकहरुलाई जिम्मेवार भएर पठनपाठन गराउन निर्देशन दिए । उनले विभिन्न समुदायका विद्यार्थीहरुको लागि गृहकार्य कक्षासमेत गाँउ गाँउमा सञ्चालन गर्ने तयारी गरेको भन्दै त्यसमा समेत सहयोग गर्न आग्रह गरे ।

निजी विद्यालय र सामुदायिक विद्यालयबीच तीव्र प्रतिस्पर्धा रहेको भन्दै सामुदायिक विद्यालयका विद्यार्थी समेत अब्बल छन् भन्ने देखाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण भएकाले जिम्मेवारीपूर्वक कार्यस्थलमा खटिन उनले आग्रह गरे । खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । नगरपालिकाले खैरहनी मावि मा निःशुल्क विज्ञान कक्षा सुरु गरेको, विपन्न विद्यार्थीहरुको लागि गाँउघरमै अब गृहकक्षा सञ्चालनको तयारी भइरहेको, विद्यार्थीको नतिजाको आधारमा शिक्षकहरुको मूल्यांकन गरी पुरस्कृत गर्ने तयारी समेत गरिएको नगर प्रमुख खनियाले बताए । यस्ता कार्यक्रमले शिक्षाको गुणस्तरमा सुधार आउनेमा आफूहरु आशावादी रहेको उनले बताए । खैरहनी नगरपालिकाका नगर प्रमुख खनियासहित उपप्रमुख कविता उप्रेती र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले स्वयंसेवक शिक्षकहरुलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

आज नियुक्ति पाउनेमा बालविकासतर्फ ११ जना , प्राथमिक तह (कक्षा १ देखि ५) का २५ जना , आधारभूत तह (कक्षा ६ देखि ८) मा गणित र विज्ञान विषयका ४ जना र मा.वि तहको नेपाली विषयको १ जना रहेका छन् । स्वयंसेवक शिक्षकको लागि आवेदन दिएका २७२ जनामध्य २६८ जना सूचिकृत भएको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत रविन्द्र देवकोटाले जानकारी दिए । मेरिट लिष्टको आधारमा प्राथमिकताक्रम निर्धारण गरिए अनुरुप शिक्षकहरुको छनौट गरिएको देवकोटाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>