चितवन विशेष
चितवनका साहित्यकार एलबी क्षेत्रीको छैठौं कृति ‘को हो त्यो मान्छे ?’ लोकार्पित

चितवन, भदौं ११-
चितवनका अग्रज साहित्यकार एलबी क्षेत्रीको कविता कृति ‘को हो त्यो मान्छे ?’ सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा कवि भुवनहरि सिग्देल, भुवन ढुंगाना, प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका सर्जकले कृति लोकार्पित गरेका हुन् ।
कार्यक्रममा कृतिमाथि सर्जकहरू भुवन ढुंगाना र महेश पौड्यालले समीक्षात्मक टिप्पणी गरे । पौड्यालले भने, ‘ कवि एलबी. क्षेत्रीले आफूलाई ‘कवि’ भन्नुभन्दा पनि ‘कविता कोर्ने मान्छे’ भन्ने गरेको सुनेको छु । यो उनको इमानदारी हो । मेरो ठम्याइ के छ भने, उपकरण नै कविता हो भन्नेहरुका लागि एल.बी. कविता को हो त्यो मान्छे ? कविता कोर्ने मान्छे नै हुन् । तर, कविताको विवेचना उपकरणको भासभन्दा माथि उठ्नुपर्छ, र अबका दिनमा कविता आफूले बोकिल्याउने ‘सत्य’, र सत्यप्रतिको कविको निष्ठाको कसीमा हुनुपर्छ भन्ने पाठक, आलोचक र व्याख्याताका लागि एल.बी. क्षेत्री एक निर्भिक, भयरहित र प्रस्ट कवि हुन् ।’ त्यसैगरी समालोचक ढुंगानाले सङ्ग्रह भित्र कविता राम्रा भएको बताइन् । उनले एलबी क्षेत्री पुस्तकमा फिल्म खेल्नुपर्ने जस्तो एक्टिभ र कलाकार देखिएको बताइन् ।
प्रज्ञाप्रतिष्ठानका कुलपति राईले क्षेत्री देश प्रेम भएको एक कविसँगै साहित्य अभियन्ता पनि भएको बताए । कार्यक्रममा कृतिकार क्षेत्रीसहित प्रमुख अतिथि सिग्देल, कुलपति राई, प्रतीक ढकाल, डा. अशोक थापालगायतले बोलेका थिए ।
अष्ट्रेलियामा रहँदा लेखिएको छैठौं कृति क्षेत्रीले झण्डै एक दशकपछि पाठककका सामु सार्वजनिक गरेका छन् ।
पेज टर्नरले प्रकाशित गरेको यो पुस्तक काठमाडौँमा सार्वजनिक भएसँगै चितवनमा सार्वजनिक गर्ने तयारी रहेको साहित्यकार क्षेत्रीले नारायणी अनलाइनलाई बताए । उनले मानिसको पहिचान गराउन र मानिसको पहिचान खोज्न ‘ को हो त्यो मान्छे ?’ कृतिको नाम राखेको बताए । उनी कुनै राजनीतिक बाद र दर्शनमा आधारित नभई सत्यको आधारमा मन र ह्दयको भावलाई कवितामा उतार्ने गर्छन् । १०० पृष्ठको यो नयाँ कविता सङ्ग्रहमा तीन दर्जन बढी कविता सङ्ग्रहित छन् ।
अंग्रेजी र नेपाली भाषामा बराबर कमल चलाउने क्षेत्रीको विसं २०६४ सालमा पहिलो कृति ‘त्रिशंकुको देशमा’ सार्वजनिक भएको थियो । त्यसपछि उनको विसं २०७१ सालमा नै ‘भीडमा हराएको मान्छे’ कविता सङ्ग्रह, २०७१ सालमा ‘ईन्द्रमायाको देशमा’ कथा सङ्ग्रह, २०७५ सालमा ‘व्रत भंग’ कथा सङ्ग्रह, २०७८ मा कविता र कथाको संयुक्त सङ्ग्रह ‘द करिडोर अफ सेन्सेस’ प्रकाशित भइसकेका छन् ।
चितवन वरपर एलबी सरका रूपमा परिचित साहित्यकार एलबी कवि डाँडा साहित्य समाजका अध्यक्ष र भिउ चितवनका संस्थापक हुन् । उनी हरेक वर्ष चितवनमा फरक शैलीको साहित्यिक कार्यक्रम गरेर देश विदेशका साहित्यकारहरूका कुरा सुन्छन् भने वर्षभरि नै युवासँग जोडिएर साहित्यमा नयाँ पुस्तालाई प्रेरणा दिइरहन्छन् ।
२०४४ सालदेखि बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरबाट शिक्षण सेवा सुरु गरेका क्षेत्री त्यही कलेजका प्रमुखसम्म बने । शिक्षणसँगै साहित्यमा रुचि बढाएका एलबी शिक्षण पेसाबाट निवृत्तपछि नै पूर्ण रूपमा साहित्यसेवी बनेका हुन् । उनले एक लाख २५ हजार रुपैयाँ राशीको नेपालकै ठूलो आख्यान पुरस्कारको स्थापना गरेर निकै ठूलो चर्चा बटुलेका छन् ।