देश/प्रदेश
झलनाथ खनालले भनेः पार्टी सत्ता गठबन्धनबाट भएको संविधान उल्लंघनको शिकार भयो

काठमाडौं, भदौं ९-
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार आफ्नो पार्टी बन्न नहुने बताएका छन् ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धनले बारम्बार संविधान मिचेको आरोप लगाए । कोसी प्रदेश सरकारबारे सर्वोच्च अदालतले दुईपटकसम्म संविधानविरोधी काम भनेको विषयमा पार्टीको धारणा के हो ? भन्दै उनले प्रश्न गरे । गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै उनले यसबारेमा पार्टी ‘क्लियर’ हुनुपर्नेमा जोड दिए ।
‘हामी संविधानको रक्षा गर्ने भन्छौँ, तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ । कोशीमा त दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ?’ उनले प्रश्न गरे, ‘हाम्रो पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनु हुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ । त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्व हुन्छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी देशको सबैभन्दा ठूलो दल बन्न सक्ने सम्भावना भएको पार्टी रहेको बताए ।






















