Breaking News

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, गैरकानुनी भए अदालतले निर्णय गर्ने दाबी

Banner

विराटनगर, भदौं ४–

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ ।

सभाको अध्यक्षता गरिरहेका सांसदले मतदान गरेपछि विपक्षीको नाराबाजी र होहल्लाबीच थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएका छन् । उनले प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिए ।

विश्वासको मत पाएको घोषणापछि मुख्यमन्त्री थापाले भने, ‘प्रदेश सभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के छ ? प्रदेशलाई सरकारविहिनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’ असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताए ।

उनले भने, ‘संविधानको र संसदको कुरामा फेरि पनि उहाँहरु अदालत जानुहुन्छ । सर्वोच्चले व्याख्या गर्ला ।’ कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो ।

मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् । मत फिर्ता लिने समय चलिरहेका बेला उनले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>