देश/प्रदेश

ठोरीमा सर्पदंश उपचार केन्द्र प्रभावकारी बन्दै, चार वर्षमा जोगियो ५१२ को ज्यान

Banner

ठोरी, भदौं २-

तराईको गर्मी होस् वा डुबान, दुवै बेला सर्पको डर सधैं रहन्छ । सावधानी अपनाउँदा अपनाउँदै सर्पदंशको चपेटमा पर्नेहरु भइहाल्छन्, झट्ट उपचार चाहिन्छ । यस्तो बेला नेपाली सेनाले पर्साको ग्रामीण भेगलाई सेवा दिनेगरी सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रले ठूलो भर गरेको छ ।

२०७६ फागुन २४ देखि विधिवत रुपमा ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा सेनाको सबुज बक्स गणले उपचार केन्द्र चलाएको छ । केन्द्रमा शुक्रबारसम्ममा गरी ५१३ सर्पदंश तथा बिच्छी, बारुला, अरिगांल आदिले डसेकाहरुको उपचार भइसकेको छ । उपचारार्थ ल्याइएकामध्ये हालसम्म एक जनाको मात्र मृत्यु भएको छ ।

सबुज गणका क्याप्टेन जीवन गुरुङले सेनाले स्थानीयसँगको सहकार्यमा समिति गठन गरी केन्द्र सञ्चालन गरेको बताए । ‘स्थानीयसँगको सहकार्यमा प्रभावकारी उपचार गर्न सफल भएका छौं,’ उनले भने, ‘स्थानीय मात्र नभइ छिमेकी जिराभवानी र जगरनाथपुर गाउँपालिका र वीरगन्ज तथा छिमेकी जिल्ला चितवनको माडीदेखि पनि सर्पदंश पीडितलाई उपचारका लागि यहाँ ल्याउने गरिएको छ ।’ साथै भारतबाट पनि बेलाबेलामा सर्पदंश पीडित ल्याउने गरिएको उनले बताए ।

केन्द्रमा सेनाका तीन प्युठहरुले उपचार गर्ने गरेका छन् । उनीहरुले प्रि–नर्सिंङ शिक्षासँगै सर्पदंश उपचारको तीन महिने तालिम लिएका छन् । सर्पदंश उपचार केन्द्र व्यवस्थापन समिति ७ सदस्यीय छ । अध्यक्ष मानबहादुर श्रेष्ठले हिजोआज दैनिक सरदर ३ जनासम्म उपचारार्थ आउने बताउँछन् । ‘प्रायः सबै केसमा हामीले पीडितको ज्यान बचाउन सकेका छौं,’ उनले भने, ‘एउटा घटनामा पीडित आफैंको लापरवाहीले मृत्यु भएको थियो, जिराभवानीका ती युवकलाई विषालु सर्पले टोकेको थियो, उनी यहाँ ढिला ल्याइएका थिए ।’

केन्द्र सञ्चालनमा आएपछि जिल्ला सदरमुकाम वीरगन्जस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीको चाप घटेको उनले दाबी गरे । केन्द्रमा उपचार निःशुल्क छ । आधा दर्जन शय्या रहेको केन्द्र स्थापना गर्दा आवश्यक उपकरण तथा अन्य भौतिक पूर्वाधारमा स्थानीय नागरिक समाज, ठोरी गाउँपालिकाको कार्यालय, विश्व वन्यजन्तु कोष अन्तर्गतको ताल कार्यक्रमले पनि सहयोग गरेको जानकारी उनले दिए । सामान्य औषधि ठोरी गाउँपालिकाको कार्यालयले.उपलब्ध गराउछ । एन्टी स्नेक भेनम स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यालय हेटौंडाले उपलब्ध गराउछ । केन्द्रमा २०७६ मा ५, २०७७ मा ११४, २०७८ मा १४०, २०७९ मा १६४ र २०८० मा हाल सम्म ९४ जनाको उपचार भइसकेको श्रेष्ठले बताए ।

संघीय स्वास्थ्य मन्त्रालयले २२ लाख रुपैयाँ लागतको भेन्टिलेटर मेसिन २ साताअघि केन्द्रमा पठाएको छ । तर, त्यसलाई राख्न भवन अभाव छ । ‘भेन्टिलेटर राख्ने कक्षको अभाव छ,’ उनले भने, ‘गाउँपालिकाको कार्यालयले भवन बनाइदिने प्रतिबद्धता जनाएको छ ।’ भेन्टिलेटर मेसिन प्रयोगमा आए सर्पदंशका बिरामीको उपचारमा अझ सहज हुने उनले बताए ।

उपचारमा संलग्न प्युठ सुरेन्द्र सिंह कार्कीले ग्रामीण भेगमा बर्सेनि सर्पदंशका घटना हुने गरेको बताए । शनिबार नै रुङटा वेलफेयर सोसाइटी वीरगन्जले केन्द्रलाई एक थान वाटर प्युरिफायर सहयोग गरेको छ ।

 

 

(शंकर आचार्यको रिपोर्ट, ईकान्तिपुर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>