चितवन विशेष
दुर्घटनाका घाइतेको उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन

चितवन, साउन ३१
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गर्नुभएको छ । उहाँले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट गर्नुभएको हो ।
घाइते र घाइतेका आफन्तसँगको भेटपछि मन्त्री जोशीले अस्पताल प्रशासन र स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कमी नगर्न निर्देशन दिनुभएको छ । उपचारका क्रममा काठमाडौँ पठाउनुपर्ने अवस्था आए मन्त्रालयसँग समन्वय गर्नसमेत उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मैले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र अस्पताल प्रशासनलाई उपचारमा कमी नगर्न र यहाँ सम्भव नहुने भए थप उपचारका लागि काठमाडौँ पठाउन निर्देशन दिएको छु ।” यहाँ सम्भव नभएका बिरामीको उपचारका क्रममा आफूले सक्दो सहयोग गर्ने मन्त्री जोशीले बताउनुभयो ।
रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना२च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको गैँडाकोटस्थित अक्सफोड कलेजको ना१क ६१३१ नम्बरको बसले ठक्कर दिएको थियो । सोही क्रममा चारवटा मोटरसाइकल र दुईवटा स्कुटर एकापसमा ठक्कर खाएका थिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । शव बोकेको बोलेरो, गैँडाकोटस्थित अक्सफोड कलेजको बस, स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएका थिए ।
























