राजनीति
कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

काठमाडौँ,साउन ३१-
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी आज कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।
आफू आज अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन । कोसिस न हो, सबैलाई जस्तै जिजीविषाको चाहना मलाई पनि छ । इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शय्यामा केही समयमा ।’
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल भर्ना भएको बताइएको छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित घरमा ग्यास लिकपछि भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आगलागीमा परेकी उनकी आमा हरिकलाको भने उपचारको क्रममा निधन भएको थियो ।






















