Breaking News
सांसदको छविमा प्रश्न चिन्हः आठ महिनामा तीन सांसद पक्राउ, एक फरार, एक निलम्बनमा

काठमाडौँ, साउन २५-
नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा बिहीवार नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेसँगै निलम्बनमा पर्ने सांसदको संख्या चार पुग्ने भएको छ ।
मोरङ ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।
मोरङमा नोवेल मेडकल कलेज सञ्चालन गर्दै आएका शर्माको आइएस्सीको प्रमाणपत्र नक्कली रहेको भन्दै उजुरी परेको थियो । भारतबाट किनिएको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेको भन्दै शर्माविरुद्ध उजुरी परेको थियो ।
शर्मा पक्राउको जानकारी प्रहरीले सभामुखलाई दिएपछि उनी निलम्बनमा पर्ने छन् । सभामुखले संसद् बैठकमा सूचना सुनाएपछि मात्र सांसदको पद निलम्बनमा पर्ने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था छ ।
शर्मा पक्राउ परेसँगै पछिल्लो प्रतिनिधि सभा गठन भएको ८ महिनाको अवधिमा तीन जना सांसद पक्राउ परेका छन् । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् । वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परेको रायमाझी पुर्पक्षका लागि थुनामा छन् ।
अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद रायमाझीको निलम्बनका लागि संसदको कार्यसूची बने पनि बैठक नचल्दा सभामुखले सूचना सुनाउन पाएका छैनन् ।
भ्रष्टाचारको मुद्दा खेपेका मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी भने फरार छन् । संविधान जारी गर्ने समयमा भएको आन्दोलनमा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोप लागेका कोइरी फरार छन् ।
महोत्तरी १ बाट निर्वाचित सांसद कोइरीले दिएको अनुपस्थितिको सूचना सुनाउने क्रममा संसदमा हंगामा भएको थियो । कांग्रेस र माओवादीको विरोधपछि सभामुखले ‘बिरामी बिदा’को त्यो सूचना रोकेका थिए । प्रतिनिधि सभा बैठकका केही दिन उपस्थित भएका कोइरी सम्बन्धमा प्रश्न उठेपछि फरार भएका हुन् ।
थरुहट आन्दोलनका ट्याक्टर जलाएको मुद्दामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी भने छोटो समयमै रिहा भएका थिए ।२०७९ माघ १९ गते कैलालीबाट पक्राउ परेका सांसद चौधरी प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका हुन् ।
आगजनी मुद्दामा दोषी ठहर भएका सांसद चौधरी निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । विसं २०६६ भदौ ३ गते लु२त २११ नम्बरको ट्रयाक्टर जलाएको अभियोगमा दोषी ठहर भएका चौधरीले कैद भुक्तान गर्न बाँकी थियो । यसरी विभिन्न कसुरमा एकपछि अर्काे सांसदहरु पक्राउ पर्नुले सांसदको छवि र गरिमा माथि नै प्रश्न चिन्ह लागेको छ ।
(लोकान्तरबाट)्






















