Breaking News

भरतपुरको शिवघाटदेखि शारदानगरसम्म महानगरको बजार अनुगमन, म्याद नाघेका वस्तु बरामद

Banner

चितवन, साउन २२-

भरतपुर महानगरपालिकाको दैनिक नियमित बजार अनुगमन गरिरहेको छ । महानगरपालिकाले बजारमा स्वच्छता कायम गर्दै उपभोक्ताहरु नठगिऊन् भन्ने उद्देश्यले बजार अनुगमन कार्यलाइ निरन्तरता दिएको हो ।

अनुगमन कार्य महानगरअन्तर्गतको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक कार्यमा पर्छ । गत आर्थिक वर्षदेखि नै बजार अनुगमन कार्यलाइ तीव्ररुपमा कडाइका साथ निरन्तरता दिँदै आएको महानगरको दाबी छ तर पनि कालोबजारी र महंगी नियन्त्रणमा आउन नसकेको नागरिकको गुनासो छ ।

भरतपुरमा दैनिक उपभोग्य वस्तुहरु माथि हुँदै आएको अवैज्ञानिक मूल्यवृद्धि र अखाद्य बस्तुहरुको बारेमा व्यापक जनगुनासो तथा उजुरी आउने क्रम बढेको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत थानेश्वर सापकोटाले बताए । अहिले महानगरको उजुरी पेटिकामा दैनिकजसो उपभोक्ताको गुनासोले भरिएका उजुरी आउने गरेको र तत्काल नै महानगरको बजार अनुगमन समिति एक्सनमा उत्रने गरेको पनि सापकोटाले जानकारी दिए ।

सोमबार भरतपुरका विभिन्न क्षेत्रहरुमा महानगरले बजार अनुगमन गरेको छ ।  शिवघाटमा रहेको नेवारी किचन, जलकपुर होटल एण्ड रेस्टुरेन्ट, होटल ओकायरी र भगेरीथान कटेजमा महानगरले सोमबार छड्के स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा केही होटलहरुले सरसफाइमा ध्यान नदिएको, मूल्य सूची नराखेको, वडा कार्यलयमा दर्ता नगरी सञ्चालन गरेको, उपभोक्तासँग अस्वभाविक मूल्य लिइएको, एमआरपी भन्दा बढी मूल्यमा दैनिक उपभोग्य बस्तु विक्री बितरण गरेको पाइएको छ । त्यस्तै भगेरीथान कटेजले सरसफाइमा हेलचक्राइ गरेको भन्दै अनुगमन समितिले पाँच हजार रुपैयाँ जरिवाना लगाएको छ । यस्तै रेनफरेष्ट रिसोर्टलाई पनि महानगरपालिकाको टोलीले सचेत गराएको छ ।
जलकपुर,नेवारी किचन,होटल ओकायरी लगायतले राम्रो सरसफाई गरेको अनुगमनका क्रममा भेटिएको थियो ।

त्यसैगरी भरतपुर–१९ शारदानगरमा रहेको पिन्ची रेस्टुरेन्टलाई पनि सरसफाइमा विशेष ध्यान नपु¥याएको भन्दै दुई हजार रुपैयाँ जरिवाना गरिएको छ । शारदानगर मै रहेको पबित्रा एण्ड ब्रदर्श (खाद्य पसल) बाट ठूलो परिणाममा बेच्न राखिएका अखाद्य बस्तु (म्याद नाघेका) बरामद गरिएको छ । बरामद गरिएका सामानहरुमा घ्यु ५ लिटर, चकलेट ६ बट्टा,पतञ्जली अचार ४ बट्टा, अमिलो, सुजि बत्ती बाल्न प्रयोग गरिने रासायनिक तेल १६ बट्टा बरामद गरिएको छ । बरामद गरेका उक्त सामग्रीलाई जनप्रतिनिधि,पत्रकार, कर्मचारी र अन्य सरोकारवालाहरुको रोहबरमा महानगर हाता भित्र खाल्डो खनेर नष्ट गरिएको छ ।

बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली नै बनाएर बजार अनुगमनमा पठाएको छ । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफूल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ । उपभोग्य सामान मात्र बिक्री बितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

बजारमा हुने कालोबजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुरु माथिको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित संयुक्त बजार अनुगमनको टोलीले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो ।

ब्यबसायीलाई मापदण्ड अनुसार आफ्नो ब्यापार सञ्चालन गर्न, मुल्य सूची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भरपाइलाई छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तीब्रता दिएको छ ।

बजार अनुगमनमा गएको टोलीले बजार अनुगमनलाई औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ’ उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत सापकोटाले भने । अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् । उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाई बजार अनुगमन गर्ने अनुमति प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>