Breaking News
चितवनमा सडक निर्माणको काम अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा

मधुसूदन दवाडी
चितवन, साउन २२-
चितवनका विभिन्न सडक निर्माणको काम अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको सिफारिसमा चितवनको छ र काठमाडौँको एक ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
भरतपुरमा सडक निर्माण अलपत्र पारेर कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा चितवनको अर्भन कन्स्ट्रक्सन लिमिटेड, अन्जल निर्माण सेवा र युद्ध निर्माण सेवा रहेका छन् भने काठमाडौँको अनुष्ठान कन्स्ट्रक्सन कम्पनी रहेको छ ।
सार्वजनिक खदिर अनुगमन कार्यालयले अर्भनलाई एक वर्ष, अन्जल निर्माण सेवा एक वर्ष, अनुष्ठान कन्स्ट्रक्सन डेढ वर्ष र युद्ध निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा पारेको छ ।
भरतपुर महानगरपालिकाको पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यका अनुसार युद्ध निर्माण सेवाले भरतपुर–२७ मेघौलीको सडक अलपत्र पारेको थियो । त्यसैगरी अन्जल निर्माण सेवाले भरतपुर–१४ को महेन्द्रचोकदेखि वीरेन्द्रचोकसम्मको सडक, अर्भनले भरतपुरका विभिन्न ठाउँका ६ वटा सडक र अनुष्ठानले दुई वटा सडक निर्माण अलपत्र पारेको आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ पटक–पटक म्याद थप गर्दा पनि काम नगरेपछि कालोसूचीको लागि सिफारिस गरिएको हो । अहिले सबै सडकहरु नयाँ ठेक्का प्रक्रियाबाट निर्माणको काम भइरहेको छ ।’
त्यसैगरी सडक डिभिजन भरतपुरको सिफारिसमा तीन कम्पनी नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन र जय भगवती निर्माण सेवालाई प्रत्येकलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । तीन वटै कम्पनीको ठेगाना चितवन नै रहेको सडक डिभिजनका सूचना अधिकारी चण्डेश्वर शाहले नारायणी अनलाइनलाई जानकारी दिए । शाहका अनुसार जय भगवती निर्माण सेवाले पुलचोक, आँपटारी, देवघाट, टाँडी र सौराहासम्मको सडक मर्मतको काम अलपत्र पारेको थियो । त्यस्तै शुभम् कन्स्ट्रक्सनले टाँडीदेखि सौराहासम्मको मर्मत कार्य र नयाँ निर्माण सेवाले लोथरदेखि नारायणगढसम्मको सडक मर्मत अलपत्र पारेपछि कालोसूचीमा सिफारिस गरिएको हो ।
देशभरको विभिन्न निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइ आएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरू अरू कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।
फाइल फोटो






















