Breaking News
पुरानो मेडिकल कलेजमा पटक-पटक विरामी मर्ने र पैसामा मिलाउने घटना

चितवन, साउन १३-
भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विरामीको मृत्यु भएका घटना पटक–पटक बाहिर आउने गर्छन् । कलेज र चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले तोडफोड र आन्दोलन गर्ने गर्छन् । ती घटनाहरु कलेजले भित्रभित्रै मिलाउने गरेको छ ।
घटनाको विषय कलेजले सार्वजनिक पनि गर्दैन । केहि दिनअघि उपचारका क्रममा खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हटवाल उप्रेतीको उपचारको क्रममा मृत्यु भयो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण विरामीको ज्यान गएको आरोप लगाउँदै अस्पताल घेराउ गरे ।
अस्पताल र पिडित पक्षबीच सहमति भएपछि मृतकका आफन्तले शव बुझे । सहमतिको विषयमा पनि कलेजले आधिकारीक रुपमा सार्वजनिक गरेन । खैरहनी–१० का वडाध्यक्ष चन्द्रविक्रम चौधरीका अनुसार महिलाको उपचारमा लागेको खर्च सम्पूर्ण मिनाहा गर्ने, घटनाको छानबिन समिति बनाएर अनुसन्धान गर्ने, अनुसन्धानको क्रममा अस्पताल पक्ष दोषी ठहर भए कानुनबमोजिम कारबाही गर्ने, दोषी ठहर नभए पनि सामाजिक उत्तरदायित्व सम्झेर महिलाका दुई बच्चालाई अक्षयकोष खडा गरेर कक्षा १२ सम्म पठनपाठन गरिदिने सहमति भएको हो ।
सहमतिको विषयमा प्रहरी र जिल्ला प्रशासनलाई पनि जानकारी नभएको प्रतिक्रिया दिए । यसरी पटक–पटक विरामीको मृत्यु र अस्पतालमा भएको आन्दोलनको विषय गुपचुप रुपमा मिलाउने गरिएको छ । अस्पतालले पिडितलाई विभिन्न प्रलोभन देखाएर घटना बाहिर नलैजान दबाब दिने गरेको पिडितहरु बताउँछन् । यस बिषयमा अस्पतालले भने दोषि नभएको तर सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरिएको बताएको छ । यसअघि पनि पुरानो मेडिकल कलेजमा यस्ता घटनाहरु पटक पटक घटेका छन् । अस्पतालले उपचारमा चरम लापरवाही गर्ने गरेको जनस्तरबाट गुनासो आउने गरेको छ ।
























