Breaking News
चितवनमा राहदानी बनाउनेको संख्या तीन वर्षमा तीन गुनाले बढ्यो, देशप्रतिको विश्वास गुमेको संकेत

मधुसूदन दवाडी
चितवन, साउन १०
चितवनमा राहदानी बनाउनेको संख्या तीन वर्षमा तीन गुनाले बढेको छ ।
युवाहरु वैदेशिक अध्ययन र रोजगारीमा जानेक्रम बढेसँगै राहदानी बनाउनेहरुको संख्या पनि बढ्न गएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्द वंश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७\७८ मा आठ हजार ४७५ जनाले राहदानी लिएकोमा गत आर्थिक वर्षमा यो संख्या तीन गुनाले बढेको छ । गत आर्थिक वर्ष २०७९\८० मा २६ हजार ५६५ जनाले राहदानी लिएका छन् । त्यसैगरी आर्थिक वर्ष २०७८\७९ मा प्रशासनबाट १६ हजार २९६ जनाले राहदानी लिएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन पुगेकी भरतपुर माहानगरपालिका–११ बसेनीकी अरोमा कलेजबाट १२ को परीक्षा दिएकी पूर्णिमा गुरुङले पछिल्लो समय देशमा राम्रो नीति तथा शैक्षिक योग्यता अनुसारको काम नपाएकै कारण आफू राहदानी बनाउन प्रशासन आएको बताइन् । उनले आफूलाई देशभित्र नै केही हुन्छ भन्ने विश्वास नै नलागेको बताइन् । उनले भनिन्, ‘अब दैनिक विदेशिएका युवालाई देशमै स्थापित गर्न नेपाल सरकारले राम्रो र योग्यता अनुसारको रोजगार सिर्जना गर्नुपर्छ ।’ आफ्नै देशमा केही गरौँ भन्ने सोच भए पनि राम्रो काम नपाउँदा दैनिक घरायसी कारोबार चलाउन कठिन भएको मेघौलीकी सरस्वती कुमालले बताइन् । उनले सानोतिनो कामले घर धान्न नसक्ने भएपछि कुबेत जान लागेको बताइन् । सरकारले देशमै राम्रो रोजगारीको व्यवस्था गर्ने हो भने कामकै सिलसिलामा विदेश जान नपर्ने बताइन् । उनले भनिन्, ‘ देशमा परिवार चल्ने भनेको भ्रष्ट मन्त्री र कर्मचारीको मात्रै हो जस्तो छ । अरु सर्वसाधारणलाई सारै गाहे छ । राजनीतिक दलका नेताहरुले देश बनाउँछन् भन्नेमा विश्वास नै छैन ।’
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार दिनमा प्रशासनमा १३० जनादेखि १४० जनासम्म सेवाग्राही पासपोर्ट बनाउन आउने गर्छन् । जसमा १२ पास गरेका विद्यार्थी सबै भन्दा धेरै छन् । तर, छोराछोरी विदेश भएको कारण पछिल्लो समय वृद्धावृद्ध पनि पासपोर्ट बनाउन प्रशासन आउने गरेका छन् ।
प्रशासनको जानकारी अनुसार पासपोर्ट बनाउन पहिले अनलाइन मार्फत इन्लोरमेन्ट फर्म भर्नुपर्छ । यसरी अनलाइन फर्म भरेपछि प्रशासनले दिएको मितिमा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा गएर बायोमेट्रिक गर्न २५ दिन कुर्नुपर्छ । अहिले टोकन वा टाइमकार्डको व्यवस्था गरिएको भएकोले केही सजिलो भएको छ । प्रशासनका सूचना अधिकारी न्यौपानेका अनुसार एक पासपोर्ट तयार गर्न एक महिना लाग्छ । कसैलाई इमरजेन्सी पासपोर्ट चाहियो भने राहदानी विभाग काठमाडौँबाट कारण खुलाएर छिटो लिन सकिन्छ ।
यस्तै पासपोर्ट नयाँ तथा नवीकरण गर्न पाँच हजार तथा हराएको र एक पटक बिग्रेको राहदानी पुनः बनाउन १० हजार रुपैयाँ लाग्ने सूचना अधिकारी न्यौपानेले बताए । पछिल्लो समय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ ।
चितवनमा राहदानी बनाउनेको संख्या तीन गुनाले बढ्दै गएकोमा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा मानव अधिकारकर्मी बालकृष्ण पौडेलले चिन्ता व्यक्त गरे । उनले भने, ‘ यो अवस्था आउनु युवाहरुमा देशप्रतिको विश्वास हराउँदै जानु हो । १२ पास गरेका युवामा देशप्रति विश्वास र भरोसा भएन । दैनिक भ्रष्टचारका काण्डहरु सार्वजनिक भएका छन् । कसैलाई कारबाही छैन । विधिको शासन नभएकोले पनि युवाहरुमा देशप्रति वितृष्णा बढ्न गयो ।’ उनले देशमा खुलमखुला लुट र अपराधिकरण बढेकोमा चिन्ता व्यक्त गरे ।
भरतपुर–१० नहरचोकका ७४ वर्षीय पौडेलका दुई छोराहरु पनि चितवनमा बस्ने बातावरण नभएपछि विदेशिएका छन् । उनले आफूलाई छोराहरुसँगै देशमा बस्ने रहर लागेको तर रोजगारी नभएकोले उनीहरु देशमा आउने वातावरण नभएको बताए । वैदेशिक रोजगारी जाने परिपाटीले चितवनमा अपाङ्गता भएका नागरिक र वृद्धवृद्धाहरुमात्र रहन्छन् कि भन्ने चिन्ता लागेको पौडेलले बताए । उनले भने, ‘युवा जनशक्तिको पलायनले देश बन्दैन ।’






















