Breaking News
कांग्रेस सहमहामन्त्री यादवले भनेः हाम्रो नेता बालकृष्ण खाणलाई राज्यले फसायो, अन्याय भयो

काठमाडौँ, साउन ७-
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन्।
आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै यादवले भने, ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ ।’
उनले खाणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताए । ‘उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन । ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने, ‘ठगीमा राजद्रोहको मुद्दा लगाउने हो भने दिनमै १०\२० मुद्दा लगाउन मिल्छ ।’ उनले खाणमाथि अहिले अभियोग मात्र लागेको बताए । पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा छन् ।
‘उहाँको मुद्दा अन्तिम नभएसम्म केही नगरौं । उहाँ हाम्रो परिवारको साथी हो । उहाँले धेरै दुःख गर्नुभएको छ । सके सहयोग गरौं नसके दुःख नदिऔं,’ उनले भने, ‘मलाई विश्वास छ उहाँ निर्दोष भई आउनुहुनेछ ।’






















