चितवन विशेष
भरतपुरमा सार्वजनिक सुनुवाइ: महानगरपालिका–२ वडाको शतप्रतिशत प्रगति भएको दाबी

चितवन, साउन ६-
देशभरका न्यून पूंँजीकरण खर्च भईरहेका बेला भरतपुर महानगरपालिका–२ ले भने आर्थिक वर्ष ०७९\८० मा शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको दाबी गरेको छ ।
आज वडा परिसरमा भएको वार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा बिनियोजन गरिएको सबै बजेट योजना तथा कार्यक्रममा खर्च भएको वडाले जानकारी दिएको हो ।
कार्यक्रममा योजनाका बारेमा जानकारी दिंँदै वडाका इञ्जिनियर सन्तोष पाण्डेले वडामा गरिएका भौतिक पूर्वाधारमा वडा नम्बर २ शतप्रतिशत सफल रहेको दाबी गरे । वार्षिक योजना तथा कार्यक्रमको विवरण सुनाउंँदै उनले केही काम प्राविधिक तथा कानुनका कारण सम्पन्न हुन नसके पनि वडाले तय गरेका योजना समयमै सम्पन्न भएको बताए । वडास्तरीय तथा नगरस्तरीय योजना तथा कार्यक्रम शतप्रतिशत सकिएको बताउंँदै उनले संघस्तरीय केही योजना अधुरो भएको जानकारी दिए ।
सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधि आमा समूहका अध्यक्ष एवम् प्रतिनिधि तथा वडावासीको बाक्लो सहभागिता थियो । वडाले एकवर्षको अवधिमा उल्लेखनीय काम गरेको भन्दै वडावासीले प्रशंसा गरेका थिए ।
रामकृष्ण टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद रेग्मीले एक वर्षमा वडाले ढल निर्माण तथा सडक मर्मत तथा बिस्तार गरेर उल्लेखनीय काम गरेको बताए । आगामी वर्षमा टोल विकास संस्थासँग समन्वय गरी अगाडि बढ्न रेग्मीले सुझाव दिए ।
यस्तै रामेश्वर टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले वडाले तय गरेका काम समयमै पूरा भएको बताए । उनले आगामी दिनमा अधुरा योजना तथा कार्यक्रमलाई छिटै कार्यन्वयनमा लैजान सुझाव दिए । सहभागी अन्य वडावासीले छोटो अवधिमा वडामा पूर्वाधार विकास निर्माणका काम भए पनि सबै टोलमा समानुपातिक र सन्तुलित ढंंगले बजेट बिनियोजन गरी कार्यन्वयन गर्न सुझाव दिएका थिए । यसको जवाफ दिँदै वडा अध्यक्ष मनोज रानाभाटले एक वर्षमा टोल विकास संस्था र वडा वासीको चाहना र आवश्यकता अनुसार नै योजना तथा कार्यक्रम पूरा गरेको बताए । आफूले वाचा गरेका अधिकांश प्रतिबद्धता तथा योजना समयमै पूरा गर्न सफल भएको भन्दै वडा अध्यक्ष रानाभाटले स्थानीय बासीको साथ र सहयोगबाट नै सफल भएको बताए ।
अध्यक्ष रानाभाटले पांँच वर्षको अवधिका सबै योजना तथा विकास निर्माणका काम आफूले सांँढे तीन वर्षमै सक्ने प्रतिबद्धता व्यक्त गरे । आगाी दिनमा सेवाग्राहीको काम , वडाबासीको लागि सीप तथा क्षमता बृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए । आगामी वर्षको योजना तथा कार्यक्रममा वडालाई डिजिटल प्रणालीमा लैजाने भन्दै विभिन्न ठाउंँमा सिसिटीभी, स्मार्टलाईट जडान, हरेक घरको प्रोफाइल, जिपीआरएस प्रणालीलाई प्राथमिकतामा राखिएको बताए । केही योजना तथा कार्यक्रम प्राविधिक तथा कानुनी झमेलका कारण सम्पन्न गर्न नसकिएको भन्दै उनले आगामी दिनमा अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण वडा सचिव माधव सुबेदीले गरेका थिए ।






















