चितवन विशेष
चितवनमा प्रा.डा. श्रीधर लोहनी सम्मानित, २५ हजार राशीको युवराज स्मृति पुरस्कार प्रदान

चितवन, साउन ६-
अंग्रेजी साहित्यका प्राध्यापक डा श्रीधर लोहनी चितवनमा सम्मानित भएका छन् ।
भिउ चितवन (भिलेज अफ इग्लिस राइटर) ले सौराहामा गरेको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा लामो समयदेखि अनुसन्धान र लेखनमा सक्रिय लोहनीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राध्यापक डा.यादवप्रसाद लामिछानेले सो पुरस्कार लोहनीलाई प्रदान गरेका छन् । भिउ चितवनका संस्थापक तथा पूर्वअध्यक्ष ईश्वर कँडेलले आफ्नो बुबा युवराज कँडेलको स्मृतिमा नेपाली र अंग्रेजी लेखकलाई सम्मान गर्ने उद्देश्यले २५ हजार रुपैयाँ राशीसहित सो पुरस्कार स्थापना गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको सेवामा करिब चार दशक बिताएका प्रा. डा.श्रीधरप्रसाद लोहनी अंग्रेजी साहित्यका कहलिएका प्राध्यापक हुन् । उनी अहिले पनि विभिन्न अनुसन्धान र लेखनमा सक्रिय रहेका छन् । भिउ चितवनका अध्यक्ष डा केशव चालिसेको अध्यक्षतामा भएको सम्मेलनमा लोहनीलाई सम्मानित गर्नुका साथै देशका विभिन्न ठाउँहरुबाट आएका लेखकहरुले ६ वटा कार्यपत्र पनि प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि लेखकहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् ।
भिउ चितवन चितवनमा रहेका अंग्रेजी लेखकहरुको सक्रियतामा सन् २०१० मा स्थापना भएको थियो । यसले हरेक वर्ष चितवनमा अंग्रेजी लेखकहरुको बीचमा विभिन्न कार्यशाला, छलफल, सम्मान र अनुसन्धानमूलक कार्यहरु गर्दै आइरहेको छ । यसका संस्थापकहरुमा एलबी क्षेत्री, ईश्वर कँडेल, नरहरि घिमिरे, उदय अधिकारी, चेतराज रेग्मी, विश्व सुवेदीलगायत रहेका छन् ।
























