Breaking News

बामदेव गौतम भन्छन्ः विमानस्थलका सुन तस्करहरुसँग मेरो सम्बन्ध छैन

Banner

काठमाडौं, साउन ६–

राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनले भने,‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन । यो गलत आरोप हो ।’

आज रिपोर्टर्स क्लब नेपालले गरेको विशेष–साक्षात्कारमा नेता गौतमले भने–‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ राजनीतिक संलग्नत हुन्छ त ? सडक दुर्घटना, सबै ठाउँमा संलग्नता हुन्छ ? जब तथ्यले के भन्छ, त्यो हेर्नुपर्छ । हरेक दलका नेताहरु त्यहाँ उपस्थित् भएका छन् ? कर्मचारीमात्रै उपस्थित् छन् । राजनीतिक संलग्नता भएको भए उनीहरुले भन्लान् नि ।’

साक्षात्कारमा बोल्दै उनले आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको पनि दाबी गरे । उनले भने,‘म पहिलोपटक २०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरु उठाइए र अन्तिममा मलाई त्यही शक्तिले सरकारबाट हटायो, म त्यो बेला सात महिनामात्रै मन्त्री भएको हुँ ।’

गौतमले विमानस्थलमा प्रहरीको भूमिका सुरक्षासँग मात्रै सम्बन्धित रहेको सुनाए । उनले भने–‘संसारका अरु महत्वपूर्ण देशका एयरपोर्टहरुमा प्रमुख रुपमा सेना खटेको हुन्छ । त्यसपछि प्रहरी पनि रहेका हुन्छन् । अरु धेरै भन्सारलगायत सबै संस्थाहरु संलग्न हुन्छ्न। हाम्रो देशमा सेना बाहिरबाट सुरक्षामा बस्छ, भित्रैबाट बसेर काम गर्ने नेपाल प्रहरीले गर्छ । सुरक्षासम्बन्धी जाँचबुझ गर्छ । भन्सारसम्बन्धी हेर्ने सुरक्षाले होइन । भन्सारले माग ग¥यो भने सुरक्षा निकाय त्यहाँ खट्नुपर्छ । विदेशबाट आउने सामान वा किनेर ल्याउने होस वा कसैले उपहार दिएर ल्याएको होस, त्यो सबै भन्सारमा जान्छ । नेपाल प्रहरीको सुरक्षासम्बन्धी काम हुन्छन् । अनेकपटक नेपाल प्रहरीले भन्सारबाट छुटेर बाहिर आइसकेका त्यस्ता, भन्सार छल्नेहरुलाई पक्रिएर कारबाही गरेको छ । भन्सारभित्रै प्रवेश गर्न पाउँदैन् । प्रहरी र अरु निकायको आ–आफ्नो कार्यक्षेत्र हुन्छ । सामान ल्याउने र लैजाने जति पनि कामहरु छन्, ती काम भन्सारबाटै हुन्छ ।’

राजनीतिक नेतृत्वको संलग्नताबिना यत्तिको मात्रामा सुन भित्रिन सक्छ त ? भन्ने अर्को प्रश्नमा उनले यसको विषयमा गम्भीर छानबिनको आवश्यकत्ता औंल्याए । उनले थपे–‘जाँच पड्ताल गर्दै जाँदा लहरो तान्दाखेरि पहरो गर्जनेजस्ता हाम्रा उखानहरु छन्, त्यस्तो भयो भनेमात्रै मन्त्री पनि प्रधानमन्त्री पनि को–को हो तानिने स्थिति आउनसक्छ । नत्र भने त्यहाँ खटिएका कर्मचारीहरु नै मुख्य रूपमा दोषी हुन्छन् । त्यसो भएर सुन आओस् कि अरु कुनै विषय आउन् कि ? त्यसमा सिधै मन्त्री जोडिने अनि प्रधानमन्त्री जोडिने वा राष्ट्रपति जोडिने हुँदैन ।’ उनले भने,‘यदि त्यसो भन्ने छ भने प्रमाण दिनुप¥यो । म त्यसको सामना गर्न तयार छु । मुखमा स्वाद छ कसैलाई, यसो भन्दाखेरि स्वाद आउँछ अनि मनोरञ्जन हुन्छ यदि कसैलाई भने, तपाईँहरुलाई पनि भन्न छुट छ । अरु कसैलाई पनि छुट छ । तर, यथार्थमा यदि गलत कामको निम्ति तपाईँले सोध्नुहुन्छ, आरोपित गर्नुहुन्छ भने तपाईँसँग प्रमाण हुनुपर्छ । प्रमाणबिना गर्नुभयो भने तपाईँले ठूलो अपराध गर्नुहुन्छ । हाम्रो धर्म र संस्कृतिअनुसार महापापमा तपाईँ पर्न सक्नुहुन्छ । राजनीतिक वृत्तमा उठेका प्रश्नहरुमा वामदेवको नाम आउँदैन् । अराजनीतिक क्षेत्रमा रहेका कतिपय भडुँवा व्यक्तिहरुले चाहीँ बामदेवको नाम ल्याउँछन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>