चितवन विशेष
चितवनमा दैनिक दर्जनौंपटक विद्युत् अवरुद्ध, प्राधिकरण भन्छः समस्या हल हुन वर्षाे लाग्न सक्छ

चितवन, साउन ४-
चितवनमा दिनमा दर्जनौपटक बिना सूचना विद्युत् अवरुद्ध हुदा नागरिक समस्यामा परेका छन् । गर्मीको समयमा छिनछिनमा नै बत्ती काटिँदा नागरिक समस्यामा परेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुरले भने सबै प्राविधिक समस्या देखाएर पन्छिने गरेको छ । नयाँ प्रसारण लाइनहरु नबन्दासम्म यो समस्याको समाधान नहुने प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुरका प्रमुख रामु श्रेष्ठले हाइभोल्टेजका नयाँ प्रसारण लाइनहरु नबनेसम्म छिनछिनमा बिजुली काटिने चितवनको समस्या समाधान नहुने बताए । उनले समस्या समाधान हुन वर्षाे लाग्न सक्ने विचार राखे । श्रेष्ठले भने, ‘ हाइवे साँघुरो भयो, गाडी बढी भए जस्तै हो । हाम्रो ट्रन्समिसन लाइनहरुले धान्न सकेन । ढल्केबर, हेटौंडा, भरतपुर, म्याग्दी कालीगण्डकी करिडोरका नयाँ प्रसारण लाइन नबनेसम्म चितवनमा बत्ती जाने समस्या रहिरहन्छ ।’ उनले ट्रन्समिसनको लाइन निर्माणको काम हेटौंडामा रोकिएकोले पनि ढिलाइ भएको नारायणी अनलाइनलाई जानकारी दिए ।
विद्युत् प्राधिकरण भरतपुरका सुपरभाइजर सन्तोष ठाकुरले भरतपुरमा विद्युत् तार भूमिगत गर्ने काम भएकोले पनि समस्या आइरहेको बताए । उनले भने, ‘ लाइन मर्मत गर्दा पनि विद्युत् काट्नु पर्छ । तर, पनि पहिले भन्दा केही राम्रो काम भने भइरहेको छ ।’






















