चितवन विशेष

लालुलाई थपियो गैंडाका दुई केटाको जिम्मेवारी

Banner

–सुनिता सुवेदी

चितवन । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा खेल्न गैंडाका दुई केटा आइपुगेका छन् । गैंडाका दुई केटी (पुष्पा र अञ्जली)लाई प्राकृतिक बासस्थानमा छाडिएपछि राम र देवलाई उद्धार गरेर सौराहा ल्याइएको हो । बाघको आक्रमणबाट घाइते भएका दुवै केटाको उपचार जारी छ । केटाहरुको शरिरको भित्री भागमा चोट रहेको बताइएको छ ।

राम र देव तन्दुरुस्त भएपछि पहिल्यै देखि सौराहामा रहेकी पूजालाई साथी हुने छन् । केहि समय अगाडिसम्म पुष्पा र अञ्जलीको आडमा लुटुपुटु गर्थी पूजा । पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा ल्याइएको थियो । उसको शरिरको घाउ निको हुन महिनौ लाग्यो । अहिले पूजा खुबै सप्रिएकी छ ।

करिब ५ वर्ष अगाडिबाट जैविक विविधता संरक्षण केन्द्र सौराहामा जागिर सुरु गरेका जाजरकोटका लाल बहादुर महतराले नै गैँडाका केटाकेटीहरुको स्याहारसुसार गर्दै आइरहेका छन् । उनी अविवाहित हुन् । उनलाई माया गरेर ‘लालु’ भनेर बोलाउने गर्छन् । अविवाहित ‘लालु’ले एकपछि अर्काे गरी गैंडाका केटाकेटी हेरचाह गर्दै आएका छन् ।

पुष्पा र अञ्जलीको सुरु देखि नै हेरचाह गरेका महतरालाई फेरि राम र देवको जिम्मेवारी थपिएको हो । बाघले झम्टेर दुई वटा केटा नै सख्त घाइते भएकाले सुसार गर्न उनी एक्लैलाई गाह्रो भयो । महतरालाई सहयोग गर्न अर्का एक जना कर्मचारी पनि खटाइएको छ । रामदेव निको भएपछि पुजालाई साथी हुनेमा महतरा ढुक्क छन् ।

‘पुष्पाञ्जली टुहुरा थिए । पुजा अलिअलि घाइते थिई । यीनीहरु (रामदेव) चाँहि एकदमै सख्त घाइते भएकाले एक्लै स्याहार गर्न गाह्रो भएको छ,’ महतराले भने । महतरालाई सुनिल कँडेलले सहयोग गरिरहेका छन् । रामलाई रामनगरबाट २ हप्ताको हुँदा र देवलाई देवनगरबाट चार हप्ताको हुँदा उद्धार गरेर ल्याइएको ममहतराले बताए । अहिले देव दुई महिना र राम डेढ महिनाका भएका छन् ।

उनीहरुको आहारा अहिले दुध मात्र हो । एक पटकमा ५/५ लिटर दूध खान्छन् । तीन देखि चार घण्टाको फरकमा उनीहरुलाई दूध खुवाउने गरिएको महतराले बताए । पूजाले बिहान र बेलुका गरी दैनिक ३० लिटर दूध खान्छे । करिब ३ वर्षदेखि गैंडाको अभिभावक बनिरहेका लालुलाई फेरि रामदेवलाई हुर्काउने चुनौती थपिएको छ ।

राम र देवको भित्रि घाउ भएकाले निको हुन केहि समय लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रकी प्रमुख रचना शाहले बताइन् । ‘देव अलिअलि हिँड्न थालेको छ । दुवैलाई बाघले आक्रमण गरेको हो । डाक्टरले ठिक हुन केहि समय लाग्छ भनेका छन्,’ शाहले भनिन् । आखाँले नदेखिने भित्रि घाउ भएकाले उनीहरु निको हुन कति समय लाग्छ भनेर यकिन गर्न नसकिएको उनी बताउँछिन् ।

पुष्पा र अञ्जलीलाई गएको वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्र लगेर प्राकृतिक बासस्थानमा छाडिएको हो । पुष्पालाई ३ वर्ष ५ महिना र अञ्जलीलाई २ वर्ष २ महिनाको उमेरमा छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनीहरु फर्केर फेरि मध्यवर्ती क्षेत्रमा आउन थालेका छन् । मानिसहरुको माझमा हुर्केका उनीहरु मानिसहरु नै खोज्दै समुदायमा आउने गरेका तिवारीले बताए ।

उनका अनुसार पुष्पा र अञ्जली समुदायमा निस्कन सक्ने सम्भावित स्थान टाल्ने, गेटहरु लगाउने र खुल्ला नराख्न निर्देशन दिइएको छ । उनीहरु विस्तारै जंगलमा रमाउन सिक्दै छन् ।

इच्छुकले गैंडालाई सहयोग गर्न सक्ने

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्रले गैँडालाई स्याहारसुसार गर्ने बजेट अभाव भएको बताएको छ । सहयोगी मनहरुलाई लक्षित गरेर निर्देशिका तयार पारिएको केन्द्र प्रमुख शाहले जानकारी दिइन् । पुजा र रामदेवको खर्चको लागि समुदायले सहयोग गर्न सक्ने उनले बताइन् ।

‘एक महिनामा पूजासहित राम र देवलाई २५ किलोका ५ बोरा पाउडर दूध चाहिन्छ । एक बोरालाई २० हजार खर्च लाग्ने गरेको छ’, उनले भनिन् । आमासँग नछुट्टिकन ५ वर्षसम्म संगै हिडडुल गर्ने स्वभाव गैँडाको बच्चामा हुने भन्दै उनले उद्धार गरेर ल्याइएका गैंडालाई पाल्न बजेट अभाव भएको बताइन् ।

पूजाले बिहान बेलुका दुध सँगै फलफूल पनि खाने गरेको उनी बताउँछिन् । राम र देवको उपचार जारी रहेकाले मासिक ५ हजार रुपैयाँ औषधीमा खर्च भएको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>