पत्रपत्रिका

बागमती प्रदेशमा भाडा समायोजनमा ढिलाइ

Banner

हेटौँडा, साउन २–

पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिए ।

उनले भाडा समायोजनका लागि सिफारिस गर्न समिति रहेको र समितिको सिफारिसका आधारमा मन्त्रालयले निर्णय गर्ने बताउँदै छलफलको क्रममा रहेको समायोजनमा प्रक्रियागत रूपमा ढिलाइ हुने बताए ।

“मन्त्रालयले निर्णय गरी प्रदेश राजपत्रमा प्रकाशित भएपछि मात्र समायोजन भएको भाडा दर कार्यान्वयनमा आउँछ। बागमती प्रदेशमा बिहीबार र सोमबार मात्र प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्था रहेकाले सार्वजनिक सवारीसाधनको नयाँ भाडा दर समायोजनमा ढिलाइ हुने छ। भाडा समायोजना प्रक्रिया यहाँका अलि लामो छ, त्यसैले ढिलाइ हुन्छ,” उनले भने ।

छलफल र प्रक्रियामा रहेको बताउँदै गत जेठ महिनामा समेत यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर समायोजन गरेको एक सातापछि मात्रै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गरेको थियो।

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले जेठ ३ गते भाडा समायोजन गरेकोमा प्रक्रियागत ढिलाइ भन्दै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सातापछि जेठ १० गते भाडा समायोजन गर्दै करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर घटाएको थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>