चितवन विशेष
मासिक ७० हजार भाडा तिरेर बस्दै आएको ट्राफिक कार्यालय चितवन अब आफ्नै भवनमा

चितवन,साउन १-
भाडाको घरमा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन आफ्नै भवनमा सर्ने भएको छ । विसं २०५५ मा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय हालसम्म भाडाको घरमा बस्दै आएको थियो । आफ्नै भवन नहुँदा ट्राफिक प्रहरीलाई सेवा दिन केही समस्या हुँदै आएको थियो । मासिक रु ७० हजार भाडा तिरेर बस्दै आएको ट्राफिक प्रहरीले साउन ३ गतेदेखि आफ्नै कार्यालयबाट सेवा दिनेछ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले साउन ३ गते भवन सर्ने योजनामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणको काम सकिएको छ । अब पानी र बिजुली जडानको काम बाँकी छ ।” जिल्ला प्रहरी कार्यालयको तीन बिघा जग्गामध्ये सात कट्ठा क्षेत्रफलमा भवन निर्माण गरिएको हो । बागमती प्रदेश सरकारको रु तीन करोड ३२ लाख १९ हजार आठ सय सात लागतमा भवन निर्माण गरिएको हो । प्रशासनिक कक्ष र ब्यारेकसहित साढे दुईतले सो भवन निर्माणका लागि २०७८ साल चैत २८ गते सम्झौता भई काम सुरु गरिएको थियो । चौध महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएअनुसार काम भएको हो ।
चितवनमा हाल ८२ जना ट्राफिक प्रहरी कार्यरत छन् । जसमध्ये मुख्य कार्यालयमा जम्मा ४० जना रहेको तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको सवारी चापअनुसार एक सय ५० जनाको दरबन्दी माग गरिएको भए पनि अहिले जम्मा ३१ जनाको मात्रै दरबन्दी रहेको छ । जिल्लामा ९३ किलोमिटर लामो मुख्य राजमार्ग छ । आफ्नै कार्यालय भएपछि कार्यालय सञ्चालनदेखि आवास, पार्किङजस्ता काममा धेरै नै सहज हुने उहाँले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मासिक रु ३० लाख हाराहारी राजस्व सङ्कलन गर्दै आएको छ । रासस
























