Breaking News
भ्याटको कारणले भरतपुरबाट हुने हवाइ उडानको भाडादर २१० देखि २५८ रुपैयाँसम्म बढ्न सक्ने

चितवन, असार ३१-
सरकारले नयाँ आर्थिक वर्ष २०८०\८१ बाट हवाई भाडादरमा मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णय गरेसँगै भरतपुरबाट हुने हवाइ उडानको भाडादर बढ्ने भएको हो ।
वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सोमबारबाट मूल्य अभिवृद्धि करसहितको भाडादर लागू गर्ने जनाएपछि भाडादर बढ्ने निश्चित भएको हो ।
कम्पनीबाट सर्कुलर आइनसकेकोले भोलिको भाडादर पुरानै रहेको बुद्ध एयर भरतपुरले जनाएको छ । अहिले भरतपुर विमानस्थलबाट काठमाडौँ भाडादर चार हजार ३१५ रुपैयाँ र भरतपुर–पोखरा भाडादर तीन हजार ५०० रुपैयाँ रहेको छ । अब ६ प्रतिशत बढ्दा काठमाडौँको हवाइ भाडा थप २५८ रुपैयाँ र पोखराको २१० रुपैयाँ थपिने छ ।
वायुसेवा कम्पनीहरुले नयाँ भाडादर लागू गर्नका लागि गृहकार्य सुरु गरेको जनाएका छन् । कम्पनीले सामान्यतयाको तुलनामा नयाँ भाडादर करिब ६ प्रतिशतले वृद्धि हुने जनाएका छन् ।
नयाँ भाडादर पहिलाको तुलनामा वृद्धि हुने वायुुसेवा कम्पनीले जनाएका छन् । वायुसेवा कम्पनीका अनुसार करिब ६ प्रतिशतले महंगो पर्नेछ । संघका प्रवक्ता योगराज कँडेल भन्छन् ‘अब हवाई भाडादर वृद्धि हुन्छ । टिकटको मूल्यमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिन्छ । सबै कम्पनी भ्याट दर्ता प्रकृयामा गइसकेका छन् । हामीसँग भएको प्यानलाई नै भ्याटमा रुपान्तरण गर्ने हो ।’






















