देश/प्रदेश
रवि लामिछानेले भनेः हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो

काठमाडौं, असार २८-
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरु सरकारको दौंडमा नरहेको र एमालेको पछि पनि नलागेको स्पष्ट पारेका छन् ।
सोमबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय मामिला बिटका सञ्चारकर्मीहरूसँगको संवादमा सभापति लामिछानेले आफूहरूलाई एमालेको पछि लागेको भनेर भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाएका हुन् ।
‘पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको अति नै कम दल छन् । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो, त्योअनुसार गयौँ । सरकारमा बस्न सकुन्जेल बस्यौँ । जब त्यो सहमति टुट्यो, त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन ।’ लामिछानेले भने, ‘प्रतिपक्षमा एमाले ठूलो दल होला । तर हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि छौँ ।’
सभापति लामिछाने पार्टीको हरेक निर्णयहरू स्वतन्त्र रुपमा हुने गरेको बताउँछन् । तर, कहिले सत्तापक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको भन्दै उनी सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने बताउँछन् ।
‘अहिले पनि प्रतिपक्षमा मुद्दा होलान्, तर सबै एउटै हुन सक्दैन । जस्तो सांसद विकास कोषको नाम जे दिए पनि हाम्रो आफ्नो अडान छ । एमालेको अडान के हो त ?’ लामिछानेको प्रश्न छ ।
सभापतिको जस्तै गुनासो उपसभापति डोलप्रसाद अर्यालको पनि छ । जनताले रास्वपाको प्रत्येक गतिविधिमा चासो दिइरहेको भन्दै सूचना प्रवाहमा समस्या हुँदा गलत सन्देश गइरहेको उनी बताउँछन् । सरकारले बजेटमा षड्यन्त्र गरेर जिल्ला निर्वाचन खारेज गर्नखोज्दा रास्वपाले पटकपटक अडान लिएर निर्णय उल्टाउँदा पनि प्रचार चाहिँ एमालेको पछि लागेर रास्वपाले काम गरेको भन्ने भएको बताउँछन् ।
‘सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजेको थियो । यो ‘डे वान’देखि रास्वपाले प्रयास गरेर निर्णय उल्टाउन सफल भयो’ अर्याल भन्छन्, ‘तर, समाचार आउँदा के आयो भने एमालेसहित रास्वपाले जिल्ला निर्वाचन खारेजीको विरोध गर्यो । त्यही ठाउँमा रास्वपासहित एमालेले भनेर विरोध गरेको कुरा आएको भए हुन्थ्यो होला नि ।’
उपनिर्वाचनअघि रास्वपलाई सरकारमा लैजान भन्दै सत्ता गठबन्धनले अफर गरेको थियो । तर, दल सरकारमा गएन । दलका नेताहरू अहिले पनि पार्टी सरकारमा जाने कुनै तयारी नभएको बताउँछन् ।
सभापति लामिछानेले अहिले रास्वपा सरकारको दौडमा नभएको बताए । पार्टी संगठन निर्माणमा लागेको भन्दै उनले यही गठबन्धन निरन्तर होस् भन्ने पार्टीको चाहना रहेको बताए ।
‘उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौँ । उहाँहरूको जे समझदारी भएको छ, त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौँ । हामी सरकारमा जाने रेसमा छैनौँ’, लामिछानेले भने, ‘हामी स्थायित्वका पक्षमा छौँ । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौँ । र, जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।’






















