देश/प्रदेश

विद्यालयको माटो बेचेर भ्रष्टाचार गरेको अभियोगमा प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा

Banner

काठमाडौं, असार २८-

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालयको जमिन गैरकानुनीरुपमा उत्खनन् गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनाविरुद्ध आरोप पत्र दायर गरेको छ।

अख्तियारले  कञ्चनपुर लालझाडी गाउँपालिका –४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङजाईको हाताभित्र रहेको जमिन गैरकानुनी रुपमा उत्खनन् गरी माटो बिक्री गरेको आरोपमा व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना,प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस्तै माटो खरिद गर्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । विद्यालय हाताभित्र रहेको जमिन गैरकानुनी रुपमा उत्खन्न गरी माटो स्थानीय उद्योगलाई बिक्री गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा  सात लाख २९ हजार ५१४ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको पाइएकाले चारैजनाविरुद्ध  बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिए।

आर्थिक वर्ष २०७६\०७७ मा र आ.व. २०७७\०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु ७,२९,५१४.५० (सात लाख उनान्तीस हजार पाँच सय चौध रुपैया पचास पैसा)  बराबरको सरकारी रकम हिनामिना र हानिनोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका देहायबमोजिमका प्रतिवादीहरु उपर देहायबमोजिम सजायको मागदाबी गरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>