देश/प्रदेश

सिता दाहाललाई भएको प्रोगेसिभ सुपरन्युक्लियर पाल्सी के हो ?

Banner

काठमाडौं, असार २८–

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल लामो समयदेखि पिएसपी (प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी) नामक रोगबाट ग्रसित थिइन्। यो रोगको कारण उनले जटिल समस्याहरू भोग्दै आएकी थिइन्। चिकित्सकका अनुसार दाहाललाई लागेको रोग विश्वमै दुर्लभ मानिन्छ।

वीर अस्पतालका न्युरोलोजी विभागका प्रमुख डा सुनिल कोइरालाका अनुसार पिएसपी मस्तिष्कको मध्यभागमा रहेको कोषमा म्युटेसन भएर हुने समस्या हो। त्यो कोषमा हुने प्रोटिनमा म्युटेसन भएपछि सामान्य रूपमा काम नगरी नियमित प्रक्रियामा अवरोध आउँछ। पछि त्यो कोष सुक्दै गएर समस्या जटिल बन्छ। मस्तिष्कसँग जोडिएका स्नायुहरूले शरीरका विभिन्न अंगलाई काम गर्न निर्देशन दिन्छन्।

मस्तिष्कको कोष नै सुक्दै गएपछि सामान्य काम गर्न नसकी आँखाको चाल बन्द हुने, बोल्न नसक्ने, शरीरको सन्तुलन नभएर उभिँदा या हिँड्दा लडखडाउने, खाने कुरा निल्न गाह्रो हुने, जिउको चालमा नियन्त्रण नहुने, स्मरण शक्तिमा समस्या आउनेजस्ता लक्षण देखा पर्छन्। चिकित्सकका अनुसार यो रोग पहिचान भएको ६ देखि ९ वर्षभित्र बिरामीको मृत्यु हुन्छ। नेपालमा यो रोेग अहिले पनि ढिला गरी पहिचान हुन्छ या पहिचान नै नहुने प्रवृत्ति कायमै छ। वीर अस्पतालको न्युरोलोजी विभागमा उपचारमा प्रतिवर्ष चारदेखि पाँचजना पुग्ने गरेको अनुमानित तथ्यांक छ।

नेपालमा यस्ता बिरामीको संख्या कति छ भन्ने विषयमा अहिलेसम्म अध्ययन नभएको वीर अस्पताल न्युरोलोजी विभागका प्रमुख डा सुनिल कोइराला बताउँछन्। तर अन्तर्राष्ट्रिय तथ्यांकअनुसार प्रति १ लाखमा ५ देखि ७ जनामा यो रोग देखिन्छ।

यो रोग प्रायः ६५ वर्षपछि देखिन्छ तर कहिलेकाहीँ ४० वर्षपछिका मानिसहरूमा पनि एकाधमा देखिने गरेको छ। चिकित्सकका अनुसार यो रोग जिनमा आएको म्युटेसन या वंशाणुगत कारणले लाग्छ। वातावरणमा हुने प्रदूषणले स्नायुमा असर पर्न गए पनि यो रोग लाग्न सक्छ।

यो रोग लागिसकेपछि बिरामीलाई सहज बनाउने थेरापी र लक्षणअनुसारको उपचारबाहेक निको हुने उपचार अहिलेसम्म चिकित्सक विज्ञानले पुष्टि गर्न सकेको छैन। यो रोगमा सहज बनाउन लक्षणअनुसारको विभिन्न थेरापी दिने गरिन्छ। खाना निल्न नसक्दा पेटमा पाइप राखेर पनि खुवाउने गरिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>