चितवन विशेष
चितवनका दुई साहित्यकार अष्टदेव खनाल र सुरेन्द्र अस्तफल भानुजयन्तीमा पुरस्कृत हुँदै

चितवन, असार २६-
चितवनका दुई साहित्यकार अष्टदेव खनाल र सुरेन्द्र अस्तफल भानु जयन्तीमा पुरस्कृत हुने भएका छन् ।
यस वर्षको चितवन साहित्य परिषद् (चिसाप) खेमलाल साहित्य पुरस्कार आख्यानकार अष्टदेव खनाललाई र चिसाप प्रतिभा पुरस्कार कवि सुरेन्द्र अस्तफललाई प्रदानगरिने भएको हो ।
परिषद्को सोमबार बसेको कार्यसमिति बैठकले खनालको उपन्यास ‘अन्तश्चेतना’लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार जीवा लामिछानेले बुबा खेमलाल लामिछानेको स्मृतिमा स्थापना गरेको चिसाप खेमलाल साहित्य पुरस्कारको ५० हजार ४५ रुपैयाँ र चिसाप प्रतिभा पुरस्कार १५ हजार ४५ रुपैयाँको रहेको परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष केदारनाथ खनालका अनुसार उक्त पुरस्कारहरू आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्तीका अवसरमा आगामी असार ३० गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिँदैछ ।
परिषद्ले नारायणी कलामन्दिर तथा भरतपुर महानगरपालिकासितको सहकार्यमा २१० औं जन्मजयन्ती मनाउन लागेको भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले नारायणी अनलाइनलाई जानकारी दिए ।
भरतपुर शरदपुरका अष्टदेव खनाल पूर्वीय साहित्यिक चिन्तनमा आधारित भएर उपन्यास लेख्ने उपन्यासकार हुन् । उनको दुई उपन्यास ‘र्निविषय’ र ‘अन्तश्चेतना’ प्रकाशित भएका छन् ।
भरतपुर महानगरपालिका–५ का अर्का कवि तथा लेखक सुरेन्द्र अस्तफल चितवनमा बसेर साहित्य सृजना गरेका अग्रज साहित्यकार तथा नेपाली विषयका प्राध्यापक हुन् । आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’, ‘हिउँको आरोहण’ र ‘तेलभिसा’ कृति प्रकाशित भइसकेका छन् । अस्तफल चितवन साहित्य परिषद् चितवनका पूर्वअध्यक्ष, नेपाली लेखक संघ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत हुन् ।






















