चितवन विशेष
११ वर्षपछि चितवनका पुजनले पाए नागरिकता

चितवन, असार २४–
झण्डै ११ वर्षको प्रयासपछि चितवनका पुजन तिमिल्सिनाले नागरिकता पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि बनेको नयाँ कानुन कार्यान्वयन आएलगत्तै पुजनले नागरिकता पाएका हुन् । ३० वर्षका पुजन नागरिकता पाउन निकै संघर्ष गर्न पर्यो । उनका बुवा २०५८ सालदेखि बेपत्ता भएपछि उनलाई नागरिकता पाउन संघर्ष गर्नु परेको छ ।
नागरिकता नभएकै कारण पुजन जेल पर्दा उनकी आमा समेत जेलमा बस्नु परेको थियो । पुजनले आमाको नामबाट निकालेको मोटरसाइकल चलाउँदा दुर्घटनामा एक जनाको मृत्यु भएपछि उनी जेल बस्नु परेको थियो । मोटरसाइकल आमाको नाममा भएकाले आमा समेत जेल बस्नुपर्दा पुजनलाई निकै पीडा भएको थियो । उनी त्यतिबेलाको दुःख सुनाउँदै भन्छन्–‘मेरो नागरिकता भएको भए मसंगै मेरो आमा जेल जानु पर्दैनथ्यो होला, त्यसैले नागरिकता नभएको पीडा मलाई मात्रै थाहा छ ।’
घटना २०७५ सालको हो । ललितपुरमा भएको सवारी ज्यान मुद्दामा सवारी धनी आमा भएको कारण आमा र दुर्घटना गराएको कारण छोरा जेल परे । उनकी आमा दुई महिना र आफू दुई वर्ष छ महिना जेलमा परेको उनी बताउँछन् ।
बाबु बेपत्ता भएपछि आमाको नामबाट पनि नागरिकता पाउनुपर्छ भन्दै उनी धेरैपटक प्रशासन धाएका थिए । तर जुनसुकै सिडिओ आए पनि उनको समस्या समाधन हुन सकेन । कानुन नहुँदा उनले दुःख सुनाउँदैमा पनि नागरिकता बन्ने अवस्था थिएन ।
प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, सांसद्, राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाज सबैसँग हारगुहार गरेका पुजनजस्ता १२ लाख मानिसको विषयमा सरकारले केही महिनाअघि नागरिकता विधेयक ल्यायो । राष्ट्रपतिबाट जेठ १७ गते प्रमाणीकरण भयो । तर सर्वोच्च अदालतले जेठ २१ गते नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध परेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेपछि असार ७ गते फैसला नहुँदासम्म माइतीघरमा बसेर आन्दोलन भयो ।
नागरिकताविहीन संघर्ष समितिको प्रवक्ता भए साथै सर्वोच्चको बहसमा पीडितको तर्फबाट पुजन सहभागी भए । मुद्दा जितेपछि नागरिकता लिन उनी चितवन आए । फेरि पनि बाबु बेपत्ता भएकै कारण उनले नागरिकता पाउन गाह्रो भयो । तर दुईदुईपटक मुचुल्का उठाएपछि भने घरको हजुरबुबाको नागरिकता प्रतिलिपिको आधारमा असार २१ गते उनले जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकता पाए । उनीसँगै उनका भाइ पुरन तिमिल्सिनाले पनि सँगै नागरिकता पाएका छन् । तर पुजन जस्ता अझै धेरैले चितवनमा नागरिकता पाउन बाँकी छ ।
























