चितवन विशेष
भरतपुरको बोष्टन कलेजमा ऐतिहासिक उत्सव, डिन लिस्टमा पर्न सफल ११७ विद्यार्थीलाई सम्मान

चितवन, असार २३-
भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले पोखरा विश्वविद्यालयको डिन लिस्टमा पर्न सफल ११७ जना विद्यार्थीलाई सम्मान गरेको छ ।
पोखरा विश्वविद्यालयको नियम अनुसार ३.७ वा सो भन्दा माथि जीपीए ल्याएका विद्यार्थीलाई विश्वविद्यालयले डीन लिस्टअन्तर्गत छुट्टै सम्मान गर्ने प्रचलन रहे अनुसार क्याम्पसले पनि विद्यार्थीलाई सम्मान गरेको हो ।
बोस्टन ईन्टरनेशनल कलेजमा अध्ययनरत ६४१ जना मध्येबाट ११७ जना विद्यार्थीले डिन लिस्ट सरह नतिजा ल्याएका छन् जुन कुल विद्यार्थी संख्याको १८ प्रतिशत भन्दा बढी हुन आउँछ त्यसमा पनि ४.० मा ४.० जीपीए ल्याउने विद्यार्थीहरु २८ जना रहेको कलेजका स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारीले जानकारी दिए । विश्वविद्यालयको परीक्षामा सबै विषयमा ए ग्रेड ल्याउने विद्यार्थीको जीपीए ४.० आउँछ जसलाई बोलीचालीको भाषामा ‘युनिभर्सिटी टप’ गरेको भन्ने प्रचलन छ । यसर्थ गत शैक्षिक शत्रमा बोष्टन कलेजका मात्रै २८ जना विद्यार्थीहरु युनिभर्सिटी टप हुन सफल भएका छन् ।
यो नतिजा बोष्टन इन्टरनेशनल कलेजले सञ्चालन गर्दै आएको स्नातक तहका बीबीए, बीबीए–बीआई र बीसीआईएस कार्यक्रमहरुको एकमुष्ट नतिजा हो । कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले यो नतिजा नेपालमै सर्वोत्कृष्ट नतिजा भएको दाबी गरे ।
त्यस्तै उनले नेपालमा नयाँ पुष्ताको सामाजिक हस्तक्षेप, विश्वका कतिपय मुलुकले अभाव खेपेको जलस्रोत, विश्वकै प्राथमिकतामा परेको हरित उर्जाको रुपमा रहेको हाईड्रोको सम्भावना, उदीयमान अर्थतन्त्रको रुपमा रहेका भारत र चीनको बीचको अवस्थितिलगायतका कारणले गर्दा नेपालको भविष्य अबको पाँच वर्षपछि निकै उज्ज्वल हुने दाबी गरे । उनले नेपालको अहिले कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत हिस्सा पेट्रोलियमजन्य पदार्थहरुको आयातमा गइरहेको तर निकट भविष्यमा त्यो आयातलाई विधुतीय उर्जाले प्रतिस्थापन गर्ने हुँदा नेपालको अर्थतन्त्रको युगान्तकारी परिवर्तन हुने बताउँदै नेपाललाई माया गर्ने सन्देश पनि विद्यार्थीहरुलाई दिए ।

त्यस्तै कार्यक्रममा विद्यार्थीको प्रतिनिधित्व गर्दै सबै सेमेस्टरमा ४.० ल्याई हाल आठौँ सेमेस्टरमा अध्ययनरत अन्जली झावरले र अभिभावकको प्रतिनिधित्व गर्दै तेजप्रसाद घिमिरे र मनोज बिष्टले मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा कलेजले हासिल गरेको यसप्रकारको विशिष्ट नतिजाको उनीहरुले प्रशंशा पनि गरेका थिए । यो ऐतिहासिक उत्सवको खुसीयालीलाई सम्पूर्ण विद्यार्थीहरुले केक काटेर मनाएका थिए ।
























