Breaking News
गैंडा मारेको मद्दामा २५ वर्षदेखि फरार चितवनका भीमबहादुर पक्राउ, आजै भरतपुर कारागार चलान

चितवन, असार २२–
गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।
विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाईएको थियो । तर भीमबहादुर कैदभुक्तान नगरी लुकीछुपी बस्दै आइरहेका छन् ।
भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।
























