चितवन विशेष
चितवनका डीआर पोखरेललाई सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार–२०७९ बाट सम्मान गर्ने

चितवन, असार २१-
सरकारले चितवनका लेखक तथा समालोचक डीआर पाखरेललाई राष्ट्रिय प्रतिभा पुरस्कार–२०७९ प्रदान गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार एक सूचना सार्वजनिक गर्दे सो सम्मानको लागि पोखरेलको नाम सार्वजनिक गरेको हो । संस्कृति विद्यातर्फ पोखरेललाई पुरस्कार दिन लागिएको मन्त्रालयले जनाएको छ ।
विसं २०११ भदौं ११ गते ओखलढुंगाको रुम्जाटारमा जन्मिएका पोखरेल सिँचाइमा ओभरसियर भएर कामको सिलसिलामा चितवन आएका थिए । सिँचाइमा दुई वर्ष काम गरेपछि कम्युनिस्ट राजनीतिमा लागेर उनले सरकारी जागिर छाडे । देशको मध्य भागमा रहेको चितवनमा उनी चिरपरिचित बन्दै गएपछि भरतपुर–१० सिनर्जीचोकमा स्थायी बसोबास गर्न थाले ।
विसं २०३० सालबाट कविता लेखनबाट साहित्यिक यात्रा सुरु गरेका पोखरेल बिगत पाँच दशकदेखि साहित्य, पत्रकारिता, समालोचना र अनुसन्धानमा सक्रिय छन् । उनी २०४८ सालदेखि मूल्यांकन दैनिकमा रहेर खोजमूलक लेखन र अध्ययनमा सक्रिय रहे । पत्रकार महासंघ चितवनको अग्रज सदस्यसमेत रहेका पोखरेल साहित्यिक पत्रकार संघको सल्लाहकार रहेर केही समय काम गरे । पोखरेल ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष हुन् भने साहित्य संगमका सल्लाहकार हुन् । अहिले उनी कोशी किनारका माझीहरुको बारेमा अध्ययनमा सक्रिय छन् । यसअघि उनका देशका विभिन्न जनजाति, धर्म, संस्कृति र ऐतिहासिक स्थलहरुको बारेमा २०० बढी खोजमूलक लेखहरु प्रकाशित छन् ।
पुरस्कारको लागि नाम प्रकाशित भएपछि खुसी हुँदै पोखरेलले परिन्छ भन्ने अपेक्षा नगरेकोले पनि छनोटमा परेपछि खुसी लागेको नारायणी अनलाइनलाई प्रतिक्रिया दिए । उनले भने, ‘ म कुनै राजनीतिक दलमा अहिले सक्रिय थिइन तर पनि सरकारले मलाई छनोट गरेकोमा खुसी लागेको छ । म मेरो कर्ममा निरन्तर लागिरहनेछु । ’
पोखरेलसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संगीत तथा नाट्य विद्यातर्फ खोटाङका शान्तिराम राई, प्रादेशिक प्रतिभा पुरस्कारबाट संस्कृतितर्फ सात जना र संगीततर्फ अन्य सातजनालाई प्रादेशिक पुरस्कार दिने भएको छ ।
























