कृषि

भरतपुर महानगरमा ६० जना तरकारी किसानहरु सम्मानित

Banner

चितवन, असार २१–

भरतपुर महानगरपालिका–२५ ले वडाका अगुवा कृषकहरुलाई सम्मान गरेको छ ।

वर्षमा ३६५ दिन नै तरकारी उत्पादनका लागि खेतबारीमा कुटो कोदालो खेलाउने भन्दै ६० जना अगुवा कृषकहरुलाई कार्यालयले सम्मान गरेको हो ।
उनीहरुलाई तरकारी खेतीमा प्रयोग हुने स्प्रे ट्रयाक, काँटा मेसिन र सम्मानपत्रसहित सम्मान गरिएको हो । त्यस्तै गरी वडा भित्र रहेका कृषकहरु मध्येबाट उत्कृष्ट पशुपालक कृषकहरुलाई औषधि बितरण गर्नुको साथै सम्मान समेत गरिएको छ । गरिबसँग विशेश्वर कार्यक्रमअन्तर्गत अति बिपन्न वर्गका २१ जना कृषकहरुलाई स्प्रे ट्रयाक बितरण गरिएको छ । त्यस्तै वडा कार्यालयले वडा भित्र रहेका २१ वटा टोल विकास संस्थाहरुलाई कार्यालय प्रयोजनका लागि प्रयोग हुने दराज र फोहोर राख्ने डस्बिन प्रदान गरेको छ । लामो समयसम्म वडा भित्र रहेका स्वास्थ्य संस्थामा काम गरेका ९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल, झोला र छातासहित बिदाइ गरेको छ ।

कृषकहरूलाई सम्मान गर्दै नगर उपमेयर चित्रसेन अधिकारीले कृषि क्रान्तिको सुरूवात भएको टिप्पणी गरे । ‘भरतपुर महानगरपालिका पूर्वाधार विकाससँगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ’ उपमेयर अधिकारीले भने, ‘अब महानगर कृषि क्रान्तिमा अगाडि बढेको छ । कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जीवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उपमेयरले दाबी गरे ।
उनले प्राङ्गारिक र अर्गानिक खेतीमा विशेष जोड दिन सके मात्रै नगदेबालीले स्थान पाउने बताए । भरतपुर महानगरपालिका स्वास्थ्य र शिक्षामा हबको रुपमा विकास हुँदै गएको भन्दै पश्चिम भरतपुरलाई पनि कृषिको हब बनाउन सकिने आधारहरु रहेको उपमेयरको ठम्माइ रहेको छ ।

सम्मान कार्यक्रममा आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेल, नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, योजना महाशाखा प्रमुख ओमप्रसाद पाण्डे, टोल विकास संस्थाहरुको तर्फबाट अरुण अधिकारी, महिला स्वास्थ्य स्वयंसेविका मुना सुवेदी, कृषक छविलाल न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>