Breaking News
चितवनमा गत वर्षभन्दा तीन गुणा बढी रासायनिक मल बितरण, किसानलाई राहत

चितवन, असार २०–
चितवनमा गत वर्षभन्दा तीन गुणा बढी रासायनिक मल बितरण हुदा किसानलाई केही राहत भएको छ ।
साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रले गतवर्ष भन्दा धेरै मल बितरण गर्न थालेपछि किसानले धान खेतीको मौसममा मल पाएका हुन् ।
साल्ट ट्रेडिङ कर्पाेरेसन नारायणगढमा गत आर्थिक वर्षमा २० हजार ३१ बोरा युरिया मल, १४ हजार ४६७ बोरा डीएपी र चार हजार १३ बोरा पोटास मल आएको थियो । यस आर्थिक वर्ष २०७९\८० मा असार १७ गतेसम्म ६१ ह्जार २७५ बोरा र डीएपी १६ हजार ३७५ बोरा मल आएको छ । युरिया मल गत वर्षभन्दा तीन गुणा बढी आएको हो । अन्य मलको तुलनामा सबैभन्दा धेरै खपत नै युरिया मल हुन्छ ।
साल्ट ट्रेडिङ कर्पाेरेसन नारायणगढका प्रबन्धक बुद्धिविनोद दाहालका अनुसार चितवनमा पर्याप्तरुपमा मल बितरण भइरहेकोले खासै गत वर्ष जस्तो मलको अभाव नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘गत वर्षको तुलनामा युरिया मल झण्डै तीन गुणा बढी आएकोले पनि अभाव केही कम भएको हो । मल आउने क्रम अझै जारी छ । धानको लागि यो वर्ष मलको अभाव हुँदैन ।’ ट्रेडिङको तथ्यांक अनुसार जेडपछि मात्र २७ हजार ९५६ बोरा युरिया मल र १४ हजार २४६ बोरा डीएपी मल आएको छ । प्रबन्धक दाहालले मल बितरणको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएकोले पनि बितरण सहज भएको जानकारी दिए । उनले भने, ‘ मलको अपचलन नहोस् भनेर तोकिएको दर रेटमा बिक्री र तोकिएको मूल्यमा खरिद गर्न पनि किसानहरुलाई सचेत गराउँछु । किसानको आवश्यकतालाई ध्यान दिएर साल्ट ट्रेडिङले सहजतापूर्वक आपूर्ति गरिराखेको छ ।’
त्यसैगरी साल्ट ट्रेडिङले मात्र नभइ कृषि सामग्री केन्द्र लिमिटेडले पनि गत वर्षको भन्दा यस वर्ष पर्याप्त मल बितरण गरिरहेको छ । कृषि सामग्री केन्द्रका शाखा प्रबन्धक राजन बगालेले हरेक महिनानै पर्याप्त मल बितरण गरिरहेकोले पहिले जस्तो मलको हाहाकार भने नभएको बताए । उनले भने, ‘गत वर्ष माघपछि मल आएको थिएन । अहिले मल आइरहेको छ । हामीले डीएपी मल ३५७ टन बितरण गरिरहेका छौं । अब १५ दिनपछि कलकत्ता मल आइपुग्दै छ ।’
भरतपुरको कैलाशनगर क्षेत्रमा धानखेती गर्दै आइरहेकी भरतपुर–९ की किसान राधा न्यौपाने दवाडीले यस वर्ष पर्याप्त मल पाइरहेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ गत वर्षको जस्तो अभाव छैन ।’ चितवनमा युरिया मल ८४० रुपैयाँ बोरा, डीएपी दुई हजार २९० रुपैयाँ र पोटास एक हजार ६९० रुपैयाँमा बिक्री बितरण हुँदै आइरहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आवको १२ महिनामा झण्डै एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल भित्र्याएको छ । चालू आवमा साल्ट ट्रेडिङको प्रधान कार्यालय काठमाडौं मातहत विराटनगर, वीरगंज र भैरहवा प्रादेशिक कार्यालयमार्फत उक्त मल भित्र्याइएको हो ।
साल्ट ट्रेडिङले चालू आवमा युरिया एक लाख ३१ हजार मेट्रिक टन, डिएपी ६५ हजार मेट्रिक टन, पोटास २५ सय मेट्रिक टन भित्र्याउनुपर्ने जिम्मा पाएकोमा युरिया एक लाख ११ हजार मेट्रिक टन, डिएपी ४५ हजार मेट्रिक टन भित्र्याएको छ । अब युरिया र डिएपी २०–२० हजार मेट्रिक टन र पोटास पूरै अर्थात् २५ सय मेट्रिक टन ल्याउन बाँकी रहेकोमा केही दिनमै ती मलहरू पनि आउने क्रममा रहेको छ ।
विराटनगर, वीरगंज र भैरहवा कार्यालयबाट नेपालको पहाडी तथा दुर्गम जिल्लाहरूमा मल आपूर्ति एवम् ढुवानी हुन्छ । वीरगंज कार्यालयले मधेस प्रदेशको आठ जिल्ला, बागमती र गण्डकी प्रदेशमा मल पठाउने गरेको छ ।
साल्ट ट्रेडिङले रासायनिक मल आईपीएल इन्डिया र दुबइको विल्सन कम्पनीबाट खरिद गरेको जनाएको छ । साल्ट ट्रेडिङले भित्र्याएको कुल मलमध्ये ८४ हजार मेट्रिक टन नेपाल सरकारको कृषि मन्त्रालयको कोटाबाट पाएको थियो भने ग्लोबल टेन्डर अन्तर्गत फास्ट ट्रयाकबाट ४७ हजार मेट्रिक टन ल्याउने जिम्मा पाएको थियो । कृषि ज्ञान केन्द्रले बनाएको गाँउपालिका तथा नगरपालिकाको रोस्टर अनुसार सहकारी (डिलर)मार्फत् मल वितरण हुने गरेको छ ।























