देश/प्रदेश

बजेट सच्याउने प्रतिबद्धतापछि बागमती प्रदेशसभाको अवरोध हट्यो

Banner

हेटौंडा, असार १८-

प्रदेश सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि बागमती प्रदेशसभाको अवरोध हटेको छ ।

आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले १ असारमा पेस गरेको आर्थिक वर्ष २०८०\८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए । बिनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकारले प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो ।

लगत्तै सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री लामाले प्रतिपक्षी दलहरुसँग सहमति भएको भन्दै बजेट कार्यान्वयन गरेर जाने बताए ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित भयो भनेर सरकारले गल्ती महसुस गरेको बताए । उनले भने, ‘यो यो योजना समेटिएन भन्ने महसुस भयो । जिल्ला, क्षेत्र, गाउँ, वडा जहाँ असन्तुलित भयो, बजेट पास गर्नुभन्दा अगाडि त्यहाँ व्यवस्थित गर्छौं भन्ने प्रतिबद्धता आएको छ ।’ प्रदेशसभाबाट बजेट पास गर्नुअघि नै मन्त्रिपरिषद्ले बजेट सच्याएर ल्याउने सहमति भएको भन्दै उनले सरकारले आफ्नो प्रतिबद्धता पालना गरोस् भनेका छन् ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले पनि सरकारलाई विश्वास गरेर आफूहरुले सदनको अवरोध हटाएको बताए । ‘अब बल सत्तापक्षको खुट्टामा गएको छ, सत्तापक्ष सही ढंगले प्रयोग होस् भन्न चाहन्छौं’ उनले अगाडि भने, ‘गलत भयो भने रेफ्री हुन्छन्, हामीले गर्ने गतिविधिमा कुनै कुरा बाँकी राख्दैनौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>