Breaking News

मध्य असारमा चितवनमा नारायणी लिफ्टको मर्मत हुँदै, नहरमा पानी छाड्ने दिन अनिश्चित

Banner

चितवन, असार १७-

मध्य असारमा चितवनका मुख्य नहरहरुमा पानी कहिले छाडिन्छ भन्ने अनिश्चित भएको छ ।

नारायणी लिफ्टको पानी तान्ने मोटर बिग्रिएपछि पूरै सामान मर्मतको काम भइरहेकोले नहरमा पानी कहिले छाडिन्छ भन्ने अनिश्चित भएको हो ।

२८ करोडको लागतमा भारतीय ठेकदार कम्पनी डब्लूआईपीसी (वीपीक) ले फागुनदेखि मर्मतको काम सुरु गरेको अझै सकिएको छैन । त्यसकारण पनि यस वर्ष कहिले नहरमा पानी छाडिन्छ भन्ने विषय अनिश्चित बनेको हो ।
नारायणी लिफ्ट र खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका डिभिजन प्रमुख घनश्याम कार्कीले मर्मतको काम चलिरहेकोले कहिले नहरमा पानी चल्छ भन्ने यसै भन्न नसकिने नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ नारायणी लिफ्टको सम्पूर्ण उपकरणहरु फेर्नुपर्ने भएकोले मर्मतको काम चलिरहेको छ । अहिले पोखराबाट सामान ल्याउनुपर्ने गाडी मुग्लिनको जाममा फसेको छ । कहिले के, कहिले के समस्या परिरहेको छ । कहिले सकिन्छ र कहिले नहरमा पानी चल्छ यसै भन्न सक्ने अवस्था छैन ।’ अघिल्ला वर्षहरुमा असारको दोस्रो हप्तादेखि नै नहरमा पानी छाडिएको थियो ।

मर्मतका नाममा वार्षिक बजेट आउने भए पनि असारको समय पारेर मर्मत गरिने गरेको छ । बर्षा याममा जतिबेला नारायणीले बालुवा लिएर आउँछ, त्यही बेला नहर चल्ने हुँदा बालुवाले प्रत्येक वर्ष मेसिन बिग्रने गरेको छ ।

२०३५ सालबाट निर्माण सुुरु भई २०४० सालमा सञ्चालनमा आएको नारायणी लिफ्टमा पानी तान्नका लागि चारवटा पम्प छन् । दुईवटा पम्पको क्षमता एक सेकेण्डमा दुई हजार लिटर तथा अरु दुईवटा पम्पको क्षमता एक सेकेण्डमा चार हजार लिटर पानी तान्ने छ ।

पश्चिम चितवन क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल छन् । नारायणी लिफ्टको ‘ए’ क्यानल पाँच सय मिटर, ‘बी’ क्यानल १९ किलोमिटर र ‘सी’ क्यानल १६.५ किलोमिटर लामो छ । नारायणी लिफ्टको पानी बी र सी नहरका लागि विभाजन हुन्छ ।

बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फूलबारीसम्मको जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँछ भने सी नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुँदै गौरीगञ्जसम्म सिञ्चाई पु¥याएको छ । भरतपुर महानगरपालिका–१ मा रहेको जोरकुसुम पार्क नजिक नारायणी नदीको पानी २२ मिटरमाथि लिफ्ट गरेर मुख्य नहरमा ल्याइन्छ । त्यसको पाँच सय मिटर पर पुनः दुई वटा शाखा निर्माण गरी पानी पठाइएको छ । १८ मिटरमाथि लिफ्ट गरेर सी नहरबाट र लिफ्ट नगरी बी नहरबाट पानी पठाइन्छ ।

नहर अतिक्रमण हुनुअघि नारायणी लिफ्टले चार हजार ७०० हेक्टर जमिन सिञ्चित हुँदै आएको थियो । अहिले तीन हजार ५०० हेक्टर जमिन सिञ्चित हुँदै आएको छ । तर, यो घट्ने क्रम जारी छ । नारायणीबाट लिफ्ट गरेको पानीलाई खगेरी सिँचाइमा लगेर थप तीन हजार हेक्टरभन्दा बढी खेतमा सिँचाई गर्न पनि सकिन्छ । हिउँदमा खासै पानी हुँदैन । तर, नारायणीको पानी लैजान सके पश्चिम चितवनको अधिकांश भूभागमा सिँचाई गर्न सकिन्छ । नारायणी नहरको पानी राधापुर र देवनगरमा रहेका दुई लिंकेज लाइनबाट खगेरीमा हाल्न सकिन्छ । मेसिन पुरानो भएको र पम्प बिग्रने कारणले नारायणीको पानी हिउँदमा लिफ्ट गर्न नसकिएको कार्यालयले बताउने गरेको छ । यस कार्यालयमा १२ जना कर्मचारी कार्यरत छन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>