चितवन विशेष
सडकमा अलपत्र यात्रुलाई उद्धारको माग गर्दै अनेराश्ववियु चितवनले गर्यो सीडीओको ध्यानाकर्षण

चितवन, असार १७-
नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुहरुको तत्काल उद्धार गर्न एमाले निकट अनेरास्ववियु चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ध्यानाकर्षण गराएको छ ।
अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यको नेतृत्वमा गएको अनेरास्ववियुको प्रतिनिधिमण्डलले चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सडक सञ्चालन र यात्रुहरुको उद्धारबारे ध्यानाकर्षण गराएको हो ।
अनेरास्ववियुले प्रत्यक्ष जनतासँग जोडिएको र दैनिक आवतजावत गर्ने सडक लामो समयसम्म अवरुद्ध हुनुले आम सर्वसाधारण जनतालाई राहात होइन आहात महसुस गरेको जनाएको छ । अनेरास्ववियुले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘राज्यप्रतिको दायित्व आत्मबोध गर्न नपाउनु दुःखजनक छ । अझ वर्षाद सुरु हुनु पूर्व नै यति सास्ती हुन्छ भने वर्षात् लागेपछि झन् यसले भयानक रुप लिन सक्ने भएको हुँदा उद्धार टोली तयारी अवस्थामा राख्न र तत्काल अवरोध हटाउने गरी योजना बनाउनसमेत जोडदार माग गर्दछौं । साथै देशभर बर्खे झरी पर्न सुरु भएको र राजधानी जोड्ने नारायणघाट–मुग्लिन सडकमा पहिरो झरेर सडक अवरुद्ध भइरहेको छ त्यहाँ हजारौं जनतालाई मर्का परिरहेको छ ।’
अनेरास्ववियु चितवनले पहिरोले अवरुद्ध सडकमा परिचालन भएको सुरक्षाकर्मीसँग समन्वय गर्दै त्यहाँ हरेक दिन काम गर्ने गरेर र्यापिड रेसपोन्स टिम बनाउन गइरहेकोले सावधानीपूर्वक स्वयंसेवकको रुपमा काम गर्न चाहानेहरु सम्पर्कमा आउन आब्हान पनि गरेको छ । ध्यानाकर्षण पत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्र, राष्ट्रियता, न्याय, समानता, जनजीवीकाको सवालमा मात्र नभई शैक्षिक विकृति र विसंगति विरुद्ध एवम् गुणस्तरीय शिक्षा प्राप्तीसँगै विद्यार्थी समुदायको हकहित र अधिकारको रक्षाको खातिर अग्रणी भूमिका निर्वाह गर्दै आएको कुरा जानकारी गराइएको छ ।
























