Breaking News
चितवनसहित विभिन्न जिल्लाका ४० विघा खेतमा रोपाईं गरेर विप्लव नेतृत्वले धान दिवस मनाउने

काठमाडौं, असार १४-
नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशैभरका विभिन्न जिल्लामा ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप धान रोपेर धान दिवसको उद्घाटन गर्ने भएको छ । देशैभरका ४० विघा खेतमा रोपाईं गरेर विप्लवले असार १५ गते (भोलि) धान दिवसको उद्घाटन गर्ने भएको हो ।
सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत महासचिव विप्लवले पार्टी केन्द्रसहित ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान लगाउने दाबी गरे । ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको विप्लवले बताए ।
‘आत्मनिर्भर पार्टी र आत्मनिभर उत्पादन अघि सारेका छौं । यसको चर्चा र विश्लेषण व्यापक छ । यसलाई प्रयोगमा लैजाँदा अत्यन्तै विश्वास र समर्थन पाएका छौं’ विप्लवले भने, ‘असार १० गतेदेखि असार ३० गतेसम्म वर्षे बाली उत्पादन गर्न महासचिवदेखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा लाग्ने छौं ।’ असार १५ गते पार्टीका केन्द्रीय नेताहरु सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानमा ४० विघाभन्दा उत्पादन गर्न लागेको विप्लवले बताए । आफुहरुको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको विप्लवले बताए ।


























