Breaking News
चितवन निकुञ्जमा प्राकृतिक कारणले २० गैँडा मरे

चितवन, असार १३–
प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्राकृतिक कारणले ४३ वटा गैँडा मरेका थिए । त्यसयताको वर्षहरूमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । आव २०७६/०७७ मा २६, ०७७/०७८ मा ३९ र ०७८/०७९ मा ३५ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा ०७२/०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३र०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चालु आवको माघ महिनामा दुईवटा गैँडा चोरी शिकारीले मारेका थिए । अन्य गैँडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिनुभयो ।
प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकापसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताउनुभयो ।
प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । विगतका वर्षहरूमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षहरूमा यो सङ्ख्यामा कमी आएको छ । आव २०७३/०७४ मा एउटा, २०७७/७८ मा चार वटा र २०७८/०७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ वटा गैँडा मरेका थिए ।
























