विचित्र संसार

युवतीको कन्चटमा बन्दुक ताकेर लुटेराले भन्यो-फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाऊ, नत्र…

Banner

असार १३-

सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझनका लागि समेत राम्रो मञ्च दिएको छ ।

सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली माध्यम फेसबुक मानिन्छ । एउटाले फ्रेण्ड रिक्वेस्ट पठाउने र अर्कोले त्यसलाई स्वीकार गरेपछि फेसबुकमा साथी बनिन्छ । यसरी साथी बन्ने अनुरोध पठाउने र स्वीकार गर्ने काम कहिलेकाहीँ दुवैजनाको सहमतिमै तत्कालै हुन्छ त कहिलेकाहीँ एकजनाले साथीका लागि प्रस्ताव गर्छ र अर्कोले त्यसलाई सोची विचारी स्वीकार वा अस्वीकार गर्न सक्दछ ।

जे भए पनि जबसम्म दुवै पक्ष सहमत हुँदैनन् तबसम्म फेसबुकमा साथी बन्न र बनाउन सकिंदैन । आफूले पठाएको रिक्वेस्ट अरुले स्वीकार गरेन वा उसले रिक्वेस्ट पनि पठाएन भने के गर्ने ? जबरजस्ती गर्ने कुरा त भएन । तर अमेरिकामा भने फेसबुकमा साथी बन्नका लागि कन्चटमै गोली ताकिएको छ ।

अमेरिकाको इण्डियानामा यो घटना भएको छ । एकजना लुटेराले एक महिलाको धनमाल लुटेसँगै उनको कन्चटमा बन्दुक ताकेर फेसबुकमा आफूलाई फ्रेण्ड रिक्वेस्ट पठाउन लगायो ।

न्युयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार लुटेराले कन्चटमा बन्दुक ताकेर फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन लगाएकी महिलाको नाम एम्बर बेरोन हुन् ।

हालै एकदिन कार्यालयबाट फर्किएर घरतर्फ जाने क्रममा थिइन् । त्यहीँ क्रममा एकजना बन्दुकधारी लुटेराले उनलाई बन्दुक देखायो र उनको पर्स खोस्यो । त्यसपछि हातमा समाएको सो बन्दुक बेरोनको कन्चटमा राख्दै तेरो ब्वाइ फ्रेण्ड छ कि छैन भनेर सोध्यो । अनि ब्वाइ फ्रेण्ड नभए आफूलाई फेसबुकमा रिक्वेस्ट पठाएर फेसबुक साथी बन्न आदेश दियो । लुटेराले कन्चटमा बन्दुक राखेर आदेश दिएपछि उनले बाध्य भएर उसलाई फ्रेण्ड रिक्वेस्ट पठाइन् र फेसबुकमा साथी बनिन् ।

फेसबुकमा साथी बनेपछि र पर्स लुटेपछि लुटेराले उनलाई छाडिदियो । अनि उनी डराउँदै घरमा पुगेर सबै कुरा परिवारलाई बताइन् । त्यसपछि अचानक सो व्यक्तिले उनलाई फेसबुकमा मेसेज पठायो ।

मेसेजमा उसले लेखेको थियो-शान्त होउ, मैले छिटै तिम्रो पैसा फिर्ता गर्नेछु। तिमी निकै सुन्दर छौ ।

उक्त मेसेजपछि बेरोन झनै डराइन् र तत्कालै पुलिसलाई सम्पर्क गरेर पूरै घटना बताइन् । प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्‍यो । फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउनका लागि बन्दुक नै ताक्ने उक्त लुटेराको नाम डेमियन बोयस रहेछ ।

प्रहरीसँग ती व्यक्तिले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । उनीमाथि पुलिसले थप अनुसन्धान गरिरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>