चितवन विशेष
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भएको पाँच दिने लेखा तालिम सकियो

चितवन, असार १२-
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विभिन्न संकायका कर्मचारीहरुलाई लेखा व्यवस्थापन तालिम दिइएको छ ।
निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रीय कार्यालय, संकाय, निर्देशनालय एवम् आंगिक कलेजहरुका आर्थिक प्रशासनमा कार्यरत कर्मचारीहरुका लागि सो तालिम सञ्चालन गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन भएको सो तालिमलाई कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकायका डीन डा. गान्धिव काफ्लेले समापन गरेका हुन् ।
तालिम समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका सम्पूर्ण आर्थिक प्रशासनलाई एकै पटक दिइएको तालिमले विश्वविद्यालयको आर्थिक गतिविधिमा एकरुपता ल्याउने बताए । डा. काफ्लेले आर्थिक गतिविधिलाई पारदर्शी, मितव्ययी बनाउँदै सुशासन कायम गर्नुपर्ने आवश्यकतालाई तालिमले पूरा गर्ने विश्वास व्यक्त गरे ।
तालिममा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले विश्वविद्यालयमा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वविद्यालयले लागू गरेको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण निर्देशिका २०८०’ का बारेमा अभिमुखीकरण गरेका थिए ।
तालिम अवधिभर सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक पुरुषोत्तम शर्मा, नारायणी सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकी, कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका आन्तरिक लेखा परीक्षक सुनिलकुमार उपाध्याय, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंगाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख बसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत संजिव न्यौपानेलगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।
विश्वविद्यालयमा लागू हुन लागेको नयाँ लेखा प्रणाली, आम्दानी तथा खर्चको लेखाङ्कन, सारांश तथा प्रतिवेदनको तयारी, लेखा तथा प्रशासनसम्बन्धी विविध फारमहरुको उचित प्रयोगलगायतका विषयमा तालिम समावेश गरिएको थियो ।
नयाँ बनेको लेखा व्यवस्थापन म्यानुअल नेपाल सरकारको मापदण्ड बमोजिम बनेको जानकारी दिँदै तालिमका संयोजक एवम् निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले भने, ‘यसले विश्वविद्यालय र सो अन्तरगतका सम्पूर्ण निकायहरुको लेखा व्यवस्थापन प्रणालीमा एकरुपता आउने र विश्वविद्यालयको आन्तरिक नियन्त्रण प्रणालीमा पारदर्शिता र प्रभावकारिता बढ्ने छ ।’ तालिममा विश्वविद्यालयको विभिन्न निकाय, संकाय र आंगिक कलेजमा कार्यरत ३१ जना कर्मचारीको सहभागिता रहेको थियो ।

























