Breaking News

सबै पालिकाको बजेट घट्दा भरतपुर महानगरले बढायो,चालु आबको भन्दा १० करोड बढी 

Banner
चितवन,असार ११-
जिल्लाका सबै पालिकाले बजेट घटाउँदा भरतपुर महानगरपालिकाको बजेट बढेको छ । अन्य पालिकाहरुमा सङ्घीय बजेट र आन्तरिक आम्दानी घटेपछि आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ल्याइएको बजेट घटाइएको छ । भरतपुर महानगरपालिकाले भने सङ्घीय बजेट र आन्तरिक आम्दानी बढाउने प्रक्षेपणसहित बजेट बढाएको छ ।
भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा रु १० करोड ७० लाख १७ हजार बढी बजेट ल्याएको हो । जिल्लाको राप्ती नगरपालिकाको बजेट आएको छैन । अन्यको बजेट चालु वर्षको तुलनामा आउँदो वर्षका लागि घटेर आएको छ ।
भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले विभिन्न मूल्याङ्कनहरुमा भरतपुर उत्कृष्ट भएकाले सङ्घीय बजेट बढ्नु र आन्तरिक आम्दानी बढाउने महानगरको रणनीतिका कारण बजेट बढाउन सकिएको बताउनुभयो । जनसहभागिता र श्रमदान बढी हुने अनुमान महानगरको छ । खर्चलाई गौरवका कार्यक्रमका रुपमा अरूले मानेको भन्दै उहाँले भरतपुरले राजस्वको दायरा बढाएर कर चुहावट नियन्त्रण गरेर त्यसलाई गौरवका रुपमा अघि बढाएको बताउनुभयो । विकास निर्माणका काम घटाउन नसक्ने भन्दै उहाँले आन्तरिक राजस्व बढाएर विकास निर्माणका काममा कमी नल्याउने बताउनुभयो ।
भरतपुर महानगरपालिका वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट भएकाले सङ्घीय बजेट बढेर आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो चालु खर्च कम र पूँजीगत खर्च बढी छ ।”
रत्ननगर नगरपालिकाले रु एक अर्ब ३३ करोड ७२ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । सो  नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ३७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि बजेट घटेको हो ।
खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब एक करोड १२ लाख ५१ हजारको बजेट ल्याएको थियो । यस नगरपालिकाले चालु वर्षको भन्दा आगामी वर्षका लागि कम बजेट ल्याएको छ ।
माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ९६ करोड ६९ लाख दुई हजार चार सय २७  बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेको छ । चालु आर्थिक वर्षका लागि रु एक अर्ब सात करोड ८० लाख ८२ हजार ७० हजार बजेट ल्याएको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि कम बजेट ल्याइएको हो ।
कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि सो नगरपालिकाले रु ८५ करोड ९७ लाख ५१ हजार बजेट ल्याएको थियो । इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६७ करोड सात लाख ७० हजार आठ सय ४६ को बजेट ल्याएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षका लागि रु ६७ करोड ४४ लाख ३५ हजार रहेको थियो । गाउँपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा घटेको हो ।
जिल्लाका सबै पालिकामा नगरसभामार्फत बजेट आइरहँदा पूर्वी चितवनको राप्ती नगरपालिकामा भने नगरसभा स्थगित भएको छ । नेकपा ९एमाले०बाट निर्वाचित वडाअध्यक्षहरुले वडागत बजेट सिलिङ अस्वीकार गरेपछि नगरसभा स्थगित भएको हो ।
नगरप्रमुख शमशेर लामाले वडाअध्यक्षहरुले बजेट सिलिङको विषयमा अवरोध गरेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको बताउनुभयो । नगरसभाका लागि धेरै प्रयास ग¥यौँ तर केही वडा अध्यक्षहरु बजेट सिलिङलाई लिएर अवरोध गरेपछि सञ्चालन गर्न  नसकिएको उहाँले बताउनुभयो ।
नगरप्रमुख लामाले असार १८ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकपछि मात्रै नगरसभाको टुङ्गो लाग्ने छ ।” यस्तै, अन्य ६ पालिकाले भने नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>