Breaking News

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

Banner
चितवन,असार १०-
युवा तथा खेलकुदमन्त्री डिकबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताउनुभयो । उहाँले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताउनुभयो ।
त्यसैगरी उहाँले चीनको होङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको तयारीका लागि विभिन्न खेलका दुई सय ३३ जना खेलाडीलाई बन्दसत्रमा राखेर प्रशिक्षण गराइरहेको बताउनुभयो । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका एक सय वटा खेल सङ्घलाई खेलकुद प्रतियोगिता आयोजना गर्न रु दुई लाख ५० हजार अनुदान दिने गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी, देशका लागि पसिना बगाउने खेलाडीको वृत्ति विकास र प्रोत्साहन भत्ताका लागि के कति रकम बढाउन सकिन्छ त्यस विषयमा छलफल गरिने मन्त्री लिम्बूले उल्लेख गर्नुभयो । उहाँले खेलकुद प्रतियोगिता आयोजनाका हिसाबले सातै प्रदेशमा समान बजेट विनियोजन गर्न नसकेको स्पष्ट पार्दै कर्णाली प्रदेशमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
उहाँले सभासद्हरूले पब्जी ई खेललाई समावेश गरिनुपर्ने मागलाई सम्बोधन गर्दै पब्जी खेलका लागि के कस्तो नीति बनाउन सकिन्छ त्यसका लागि विशेष छलफल गरिने बताउनुभयो । मन्त्री लिम्बूले खेलाडीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटक खेलाडीका लागि बीमाको व्यवस्था गरेको बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटको निर्माण कार्य आगाडि बढिसकेको भन्दै विभिन्न ठाउँमा रहेका निर्माणाधीन पूर्वाधारको विकासमा अघि बढ्ने बताउनुुभयो ।
उहाँले कपिलवतु र प्यूठान जिल्लामा खेलकुद मन्त्रालयका तर्फबाट बजेट विनियोजन गर्न नसकेकामा क्षमा माग्दै आगामी दिनमा यसलाई पुनः विचार गर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ८७ करोड ५९ लाख रकम विनियोजन गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>