चितवन विशेष
रत्नगरको लाइसियम स्कुलका विद्यार्थीहरुद्वारा आदर्श गृहको अवलोकन

चितवन, असार १०-
रत्ननगरको निपनीमा रहेको लाइसियम स्कुलमा कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले शनिबार भरतपुरमा रहेको आदर्श गृहको अवलोकन र अध्ययन गरेका छन् ।
स्कुलले विद्यार्थीलाई मानव सेवाको बारेमा जानकारी दिनलाई सो भ्रमण गराएको हो ।
अध्ययनका क्रममा आदर्श गृहकी अध्यक्ष समाजसेवी मिना खरेलले विद्यार्थीहरुले रुचि देखाएर आदर्श गृहमा आई अध्ययन गरेकोमा खुसी व्यक्त गरिन् । उनले विद्यार्थीहरुको अनुरोध अनुसार आफ्नो जीवनयात्राको वर्णन गरेकी थिइन् भने आदर्श गृहको व्यवस्थापन र अवस्थाका सम्बन्धमा समेत चर्चा गरेकी थिइन् ।
सोही अवसरमा विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले विद्यार्थीको पाठ्यपुस्तकमा सामाजिक अध्ययन जोडिएकोले उनीहरुलाई मानव सेवाको अनुभूति गराउँदै भविष्यमा एक मानवले अर्को मानवलाई सहयोग गर्नु पर्छ भन्ने भावन जागृत गराउन यसरी अध्ययन भ्रमण गरेको बताए । शिक्षक भिमा कुमारी थापा र शान्ति अधिकारी पौडेलले बालबालिकाहरुले दिलशोभा श्रेष्ठसँग सम्बन्धित पाठ अध्ययन गर्ने क्रममा समाजसेवी मिना खरेललाई भेटेर उनको जीवनी र समर्पणबारे जानकारी राख्न इच्छा व्यक्त गरेकोले आदर्श गृहको अध्ययन भ्रमण गराइएको बताइन् । उक्त अवसरमा प्रवन्ध निर्देशक सन्तोष पन्त र लाइसियम बाल क्लबका अध्यक्ष पियुष पाण्डे, उपाध्यक्ष साइमा लामाले समाजसेवी मीना खरेललाई सम्मान गर्नुका साथै विद्यालय तथा बाल क्लबका तर्फबाट सहयोग रकम समेत हस्तान्तरण गरेका थिए भने अन्य विद्यार्थीहरुले आफूले ल्याएका खाद्य सामग्री र शैक्षिक सामग्री आदर्श गृहको बाल क्लबलाई हस्तान्तरण गरेका थिए ।
लाइसियम स्कुलले बाल क्लबका माध्यमबाट शिक्षक, विद्यार्थी तथा कर्मचारीहरुका जन्मोत्सवका अवसरमा विद्यालय परिसरमा केक काट्ने, चक्लेट बाँड्ने लगायत फजुल खर्चको प्रतिबन्ध लगाएको छ भने असहायहरुलाई सहयोग गर्न सहयोग बाकस स्थापना गरी जन्मोत्सवका दिन स्वेच्छिक रुपमा सहयोग बाकसमा रकम राख्न सक्ने व्यवस्था मिलाएको छ ।

























