कृषि

भरतपुर महानगरपालिकाद्वारा कृषिमा सात करोड बजेट बिनियोजन, कृषि प्रविधिमा जोड

Banner

चितवन असार १०–

भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार भएको १३ औं अधिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो ।

महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ । १३ औं अधिवेशनमा महानगर मेयर रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविधि प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रीकरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको मेयर दाहालले बताइन् । ‘कृषकलाई अनुदानमा कृषि यन्त्र उपकरण उपलव्ध गराउने नीति अवलम्बन गरिनेछ’, उनले भनिन्, ‘महानगरभित्रका खेतीयोग्य जमिनमा सिचाइँको पर्याप्तता सुनिश्चित गर्न भइरहेका जीर्ण अवस्थाका नहर कुलोको मर्मत गर्ने तथा कृषकलाई साना सिँचाइमा अनुदान दिने नीतिलाई निरन्तरता दिइनेछ । ’
अति आवश्यक ठाउँमा संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा ठूला खालका डिप बोरिङ खन्ने उनले बताइन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दाहालले जीर्ण अवस्थामा रहेको नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्न संघीय सरकारसँग समन्वय गरी काम अगाडि बढाउने जानकारी दिइन् ।

भरतपुर महानगरपालिकालाई उन्नत बिउ उत्पादनको हबको रुपमा विकास गर्ने महानगरको लक्ष्य छ । यसको लागि खाद्यान्न बिउ उत्पादन गर्ने कृषकलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने उनले बताइन् । महानगरको लागि प्राप्त हुने रासायनिक मलको वितरण कृषि सहकारी तथा सूचीकृत कृषक समूह मार्फत् गर्दै नियमन कार्यलाई थप व्यवस्थित गरिने बताइएको छ । रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न पशु वस्तुको मल तथा मुत्र व्यवस्थापनबाट खेतबारीमा प्रागांरिक मलको प्रयोग गरी अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने योजना बनाइएको छ ।

विषादी मुक्त भरतपुर नीतिलाई प्राथमिकता दिइने योजनामा महानगर देखिएको छ । यसका लागि अहिलेको विषादी प्रयोगको अवस्थालाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताइन् । ‘आईपीएम कृषक पाठशालालाई निरन्तरता दिइनेछ,’ उनले भनिन् ‘विषादी परीक्षण प्रयोगशालालाई संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा थप सुदृढीकरण एवम् व्यवस्थित गरिनेछ ।’ कृषि कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जनप्रतिनिधि आएपछि महानगरपालिकामा सिँचाइअन्तरगत १०० भन्दा बढी आयोजना सम्पन्न भएका छन् । भूमिगत जल तथा सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र र महानगरबाट सञ्चालित डिप बोरिङ, स्यालो ट्युबेल तथा साना सिँचाइ कार्यक्रमको कार्यान्वयनबाट करिब सात हजार बिघा जमिनमा बाह्ै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । कृषकलाई ट्रयाक्टर, टिलर, पावर टिलर, धान कुट्ने मेसिन लगायत ८९ थान यन्त्र उपकरण अनुदानमा उपलव्ध गराइएको उनले बताइन् ।

महानगरले दूधमा प्रति लिटर ३ रुपैयाँ अनुदान मार्फत ११ हजार ५०० कृषकलाई छ करोड १२ लाख रुपैयाँ अनुदान उपलव्ध गराइएको छ । यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>