Breaking News
चितवन राष्ट्रिय निकुञ्जमा जेठ महिनासम्ममा झण्डै तीन लाख पर्यटकद्वारा भ्रमण

चितवन, असार ७-
चितवन राष्ट्रिय निकुञ्जमा जेठ महिना सम्म झण्डै तीन लाख पर्यटकले भ्रमण गरेका छन् ।
राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्षको सुरुवातको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार ३५९ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन् ।
तथ्यांकका अनुसार निकुञ्जमा नेपाली एक लाख ९८ हजार ८२६ जना, सार्क देशका ३५ हजार ८८६ र विदेशी २९ हजार ५७६ जना पर्यटक पुगेका छन् । सबैभन्दा धेरै पर्यटकले कात्तिक महिनामा भ्रमण गरेका छन् भने सबै भन्दा कमले भदौं महिनामा भ्रमण गरेका छन् । कात्तिक महिनामा ४२ हजार ६४१ पर्यटकले भ्रमण गरेका छन् भने भदौं महिनामा आठ हजार ८८० जनाले भ्रमण गरेका छन् ।
निकुञ्जका अनुसार यस आर्थिक वर्षको ११ महिनामा निकुञ्जले १७ करोड ३० लाख तीन हजार ९०० रुपैयाँ राजश्व आम्दानी गरेको छ । सबैभन्दा धेरै पर्यटक आएको कात्तिक महिनामा दुई करोड ६३ लाख ५० हजार २५० आम्दानी भएको छ भने सबै भन्दा कम पर्यटक आएको भदौं महिनामा ५१ लाख तीन हजार ३०० रुपैयाँ आम्दानी भएको छ ।