देश/प्रदेश
काठमाडौँमा हिन्दी चलचित्र चलाउन पाउनुपर्छ भन्ने माग गर्दै हल सञ्चालक अदालतमा

काठमाडौँ, असार ६–
काठमाडौं महानगरभित्रका हलहरूमा हिन्दी चलचित्र सञ्चालन गर्न नदिने निर्णयविरूद्ध चलचित्र हल सञ्चालकहरू अदालत पुगेका छन् ।
हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्दा दर्ता गरिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
‘महानगरपालिकाले आदिपुरूष लगायत अन्य हिन्दी फिल्महरू प्रतिबन्ध लगाउने निर्णय गरेको रहेछ । त्यसविरूद्ध नेपाल चलचित्र संघले आदिपुरूषमात्रै प्रतिबन्ध लगाउँदा ठिकै थियो । तर सबै हिन्दी फिल्म बन्द गर्न मिल्दैन भनेर उहाँहरू आउनुभएको हो । मुद्दा दर्ता भएको छ,’ उनले भने ।
संघका कानुनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीका अनुसार मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरेको हो।
यसको सुनुवाई बिहीबार हुने उनले जानकारी दिए। सेन्सर बोर्डले प्रदर्शन गर्न अनुमति दिइसकेको फिल्मलाई कुनै पनि स्थानीय सरकारले रोक्ने अधिकार नभइ संघीय सरकारलाई मात्रै हुने उनले बताए ।
























