देश/प्रदेश
अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा बढीले घट्यो

काठमाडौं, असार ६-
बैंकहरुमा रकम थुप्रिन थालेपछि एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको व्याजदर पनि साढे ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
केही दिन अघिसम्म ७ प्रतिशतभन्दा माथि रहेको अन्तरबैंक व्याजदर अहिले ४.५१ प्रतिशतमा झरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरेको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप १० अर्बले बढेको छ । तर, कर्जा लगानी भने ठप्प देखिएको छ । सो अवधिमा कर्जा लगानी १० अर्बले नै घटेको छ । एक वर्षको अवधिमा भने ५ खर्बले निक्षेप बढेको देखिन्छ । तर, कर्जा लगानी भने एक खर्ब २९ अर्ब रुपैयाँ भएको देखिन्छ । अहिले करिब ६ वर्ष यताकै कम कर्जा प्रवाह भएको बताउँछन् । जसका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेको विज्ञहरुको तर्क छ ।
लगानीयोग्य रकम बढी भएकै कारण बैँकहरुको सीडी रेसियो (कर्जा निक्षेप अनुपात) ८३.८८ प्रतिशत छ । वाणिज्य बैँकहरुले ९० प्रतिशतसम्मको सीडी रेसियो कायम गर्न पाउँछन् । यो भनेको बैंकसँग १०० रुपैयाँ छ भने उनीहरुले १० रुपैयाँ राखेर ९० रुपैयाँ पुरै लगानी गर्न पाउने अवस्था हो ।
बैंकहरूले तरलता समस्या बढिरहँदा राष्ट्र बैंकबाट उच्चदरमा स्थायी तरलता सुविधा (एसएलएफ) लिँदै आएका थिए । दिनहुँजसो एसएलएफ प्रयोग गर्ने बैंकहरुले २०८० साल लागेपछि जम्मा ८ पटकमात्र एसएलएफ सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । उनीहरुले पछिल्लो एसएलएफ सुविधा जेठ १७ गते लिएका थिए । त्यसयता लिएका छैनन् । यसले पनि बैंकहरुमा पैसा फालाफाल भएको पुष्टि गर्छ ।
























