कृषि
चितवनमा कृषिसम्बन्धी क्षमता र सीप विकासको तीन दिने तालिम सुरु

चितवन, असार ४-
हंस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कृषिसम्बन्धी क्षमता र सीप विकास तालिम दिएको छ ।
भरतपुर महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा र सहकारीको संयुक्त आयोजनामा आज विजय नगरमा सो तालिम सुरु भएको हो ।
तालिमको उद्देश्य सहकारी संस्थाका सदस्यहरूलाई कृषिको क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपहरू प्रदान गर्ने रहेको छ । हंस बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष अमृतराज हमाल उपस्थिति रहेको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले भने, ‘प्रशिक्षणले हंसका सदस्यहरूलाई कृषिका चुनौतीहरू पार गर्न र उत्पादकत्वमा उल्लेखनीय सुधार गर्न आवश्यक सीपहरू प्रदान गर्नेछ । साथै नवप्रवर्तन र दिगो कृषि अभ्यासहरूको संस्कृतिलाई बढावा दिन प्रयासरत रहेका छौं ।’
वडा अध्यक्ष हमालले स्थानीय कृषि क्षेत्रमा परिवर्तन ल्याउने सम्भावनालाई जोड दिँदै तालिम कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा गरे । उनले भने ‘क्षमता विकासमा लगानी गर्नु हाम्रा कृषकहरूलाई सशक्तिकरण गर्नको लागि महत्वपूर्ण कदम हो । उनीहरूलाई ज्ञान र सीपले सुसज्जित गरेर हामी उनीहरूको जीविकोपार्जन बढाउन र हाम्रो समुदायको समग्र विकासमा योगदान दिन सक्छौं ।’
संस्थाकी सचिव शारदा शर्मा पौडेलले सञ्चालन गरेको कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका सञ्चालक सदस्य तथा विजयनगर सेवा केन्द्रका संयोजक ध्रुवकुमार ओझा, संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटा, सेवा केन्द्रका सदस्य रमा ढुंगानालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका ३० जना सदस्यको सहभागिता रहेको उक्त तालिमले कृषि सीप र अभ्यासहरू बढाउने अपेक्षा आयोजकले राखेको छ । आधुनिक खेती प्रविधिहरू, कुशल बाली व्यवस्थापन, माटोको उर्वरता वृद्धि, कीट नियन्त्रण उपायहरू, कृषि औजार र मेसिनरीहरूको उच्चतम उपयोग बारे तालिम केन्द्रित रहने तालिमकी प्रमुख प्रशिक्षक अन्जु शाहले बताइन् । संस्थामा अहिले चार हजार ६०० जना सदस्य रहेका छन् भने संस्थाले चार वटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरिरहेको छ ।
























