चितवन विशेष
चितवनका हलमा भारतीय फिल्म ’आदिपुरुष’ नियमित प्रदर्शन, दर्शक भने न्यून

चितवन,असार ४-
काठमाडौं महानगरपालिकासहित देशका अन्य पालिकाहरुले भारतीय फिल्म ’आदिपुरुष’मा जानकी भारतकी छोरी हुन् भन्ने संवाद नसच्चिएसम्म सबै भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका छन । तर चितवनमा भने यो फिल्म नियमित रुपमा प्रर्दशन भइरहको छ । नारायणगढ र भरतपुरका मुख्य हलहरुमा यो फिल्म प्रर्दश भइरहेको छ ।
नारायणगढको जलमा र भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको सिने प्लेक्समा यो फिल्म प्रर्दशन भइरहेको छ । क्यूएफएक्स जलमाँ चलचित्र हलका म्यानेजर विकास पोखरेलले चलचित्र नियमित प्रदर्शनमा आइरहेको बताए । उनले भने,‘चलचित्रको प्रदर्शन रोक्नेबारे आधिकारी रुपमा कतैबाट पत्र आएको छैन,त्यसैले नियमित प्रदर्शन गरिरहेका छौं ।’उनले चलचित्रको व्यापार भने निकै कम रहेको बताए । १५/२० जनाले मात्र चलचित्र हेरिरहेको भन्दै उनले खर्च समेत धान्ने अवस्था नरहेको बताए ।
यस्तै भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको सिने प्लेक्समा पनि यो चलचित्र प्रर्दशन भइरहको छ ।
नारायणगढको इन्द्रदेब चलचित्र हलमा भने यो चलचित्र प्रदर्शनमा छैन । चितवनका युवाहरुले चलचित्र प्रर्दशन नगर्न भनेपछि दुई दिन अघिबाट चलचित्र प्रदर्शन नगरिएको हलका म्यानेजर हरी रेग्मीले बताउनुभयो । उहाँले राष्ट्रियतासंग जोडिएको बिषय भएका कारणपनि फिल्म प्रदर्शन नगरिएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
भरतपुरमा भारतीय फिल्म ’आदिपुरुष’ चलचित्रबारे आधिकारिक रुपमा कुनै निर्णय नभएको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले बताउनुभयो ।


























