राजनीति

सातै प्रदेशका सभासदहरुसँग ओलीको भर्चुअल अन्तरक्रिया, चितवनका थपलियाद्वारा सरकारको नीतिमा टिप्पणी

Banner

चितवन, असार ३-

नेकपा (एमाले)ले सातै प्रदेशका निर्वाचित प्रदेश सभासदहरूसँग भर्चुअल अन्तरक्रिया गरेको छ ।

आर्थिक वर्ष २०८०\८१ का लागि प्रदेश सरकारहरूद्वारा प्रदेशसभामा नीति, कार्यक्रम र बजेटका विषयमा पार्टी केन्द्रीय कार्यालयले आज अन्तरक्रिया गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै प्रदेशसभाका नेकपा (एमाले) संसदीय दलका नेताहरूको प्रस्तुति सुनेका छन् ।

बैठकलाई निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्छ तर त्यसरी नबनाई सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएकामा आपत्ति प्रकट गरे । उनले भने, ‘बजेट बिनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक छ । बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गनुपर्छ ।’

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन उनले आग्रह गरे । ओलीले पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न निर्देशन दिए । अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको विचार राखे ।

अध्यक्ष ओलीले कोशी प्रदेश नामाकरण र त्यसपछि उत्पन्न परिस्थितिका सन्दर्भमा पनि पार्टीका धारणा राखेका छन् । उनले प्रदेश सभाको दुईतिहाईले विधिवत् ढङ्गले निर्णय गरेको कोशी नामाकरणलाई लिएर झमेला निकाल्न खोजिएको बताउँदै कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरूपमा समेट्ने भनाइ राखे । अध्यक्ष ओलीले संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने अन्तरक्रियामा बताए । उनले कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा (एमाले) नेतृत्वको सरकार कायम रहने कुरामा जोड दिए ।

बैठकमा प्रदेशसभा नेकपा (एमाले) संसदीय दलका नेताहरूले आ–आफ्ना प्रदेशमा सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटका सम्बन्धमा जानकारी गराएका थिए । उनीहरूले बजेट देशको समग्र विकासमा नभई मुख्यमन्त्री, अर्थमन्त्री र पूर्वाधार विकासमन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित रहेको जानकारी गराएका छन् । एमाले चितवनका नेता तथा बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशको नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका छन् । थपलियासहित अन्य प्रदेशका नेताहरुले बजेटले जनताका आधारभूत आवश्यकतालाई ध्यान नदिएको, कृषि क्षेत्रको विकास र आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य क्षेत्रमा ध्यान दिन नसकेको, दलीय आग्रह र कार्यकर्तामुखी खुद्रे कार्यक्रममा केन्द्रित रहेको, वितरणमुखी, गन्तव्यहीन रहेको, जनताको पक्षमा नरहेको, पन्ध्रौं पञ्चबर्षीय योजनालाई बेवास्ता गरेको आरोप लगाए ।

भर्चुअल बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशको बजेट समृद्ध प्रदेश निर्माण, दिगो विकास लक्ष्य हासिल गर्न र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोग पु¥याउने कुरामा केन्द्रित रहेको बताए । उनले बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण र विकास पहिलो प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.७ प्रतिशत हासिल गर्ने प्रक्षेपण गरिएको जानकारी गराए ।

बैठकमा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेल, लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी, गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपाली, मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै धारणा राखेका थिए । बैठकलाई सहजीकरण गर्दै पार्टीका कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले सरकारमा रहेको गठबन्धनले प्रदेशको औचित्य समाप्त गर्न चाहनेलाई सहयोग पु¥याउने काम गरिरहेको बताए एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>