Breaking News

कालिका नगरपालिकाको ६० बुँदे नीति तथा कार्यक्रम सार्वजनिकः सबै वडासम्म पक्की सडक निर्माण गरिने

Banner

चितवन, असार ३-

कालिका नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरपालिकाको नगर सभामा मेयर विनोद रेग्मीले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पुग्ने पक्की सडक निर्माण गर्न प्राथमिकता दिइने नीतिमा उल्लेख छ । त्यसैगरी नगर यातायात गुरुयोजना बमोजिम सडक सञ्जालको बिस्तार, स्तरोन्नती, मर्मत सम्भार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्ययन, शक्तिखोर र रन्तेसमा वडास्तरी बहुउद्देश्यीय बसपार्क निर्माण, खानेपानी पाइपलाइन बिस्तार, सिटी हल, व्यापारिक तथा बहुउद्देश्यीय भवनहरु निर्माणमा संघीय र प्रदेश सरकारसँग समन्वय गरिने विषयलाई नीतिले विशेष प्राथमिकता दिएको छ ।

‘मिठो मसिनो खाउँ, पोसिलो खाउँ तर खाना नफालौं’ भन्ने नाराका साथ नगरबासीलाई उत्पादन गर्ने, पोसिलो खाना खाने, खानाको सम्मान तथा बचत गर्ने बानी तथा संस्कार विकास गराउने नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । नगरबासीलाई जग्गा बाँझो नराखी घरघरमा करेसाबारी बनाउन, रैथाने बाली लगाउन र अन्यको मान राख्न परिवार तथा समुदायमा खाना नफाल्ने संस्कार सिकाउन अनुरोध एवम् प्रोत्साहित गरिने नगरपालिकाको नीति छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘विवाह, व्रतबन्ध, भोजभतेर, वनभोज तथा पार्टी प्यालेसमा खाना फाल्नेलाई नियमन गर्न कार्यविधि बनाइ लागू गरिनेछ । यसको लागि विद्यालय तथा टोलस्तरमा खाद्य सुरक्षा, खाद्य संस्कार (बानी) सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।’ त्यस्तै, आयोजकलाई स्वागतद्वारमै खाना नफाल्न अनुरोध गरिएको तुल, व्यानर वा सूचना राख्न अनुरोध गरिनेछ ।

नगरपालिकाले सार्वजनिक स्थलमा धुमपान, मध्यपान तथा गुठ्का सेवन गर्न बन्देज लगाइनेछ । नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पार्ने खाद्य तथा पेय पदार्थको बिक्री वितरण तथा विज्ञापन गर्नेलाई कानून बमोजिम कारबाहीको दायरमा ल्याइने प्रतिबद्धता नीतिमा गरेको छ ।

स्थानीय भूउपयोगअन्तर्गत भूउपयोग क्षेत्रको वर्गीकरण गर्दै एकीकृत बस्ती विकासलाई प्राथमिकता दिने नगरपालिकाको नीति छ । नीतिमा विदेशबाट फर्किएका युवाहरुलाई सामाजिक पुनःएकीकरण गरी आर्जित ज्ञान, सीप र दक्षता आफ्नो गाउँ ठाउँमा प्रयोग गर्न आर्थिक एवम् प्राविधिक सहयोग गरिने जनाइएको छ ।

त्यस्तै, ‘शुद्ध पिउने पानी, स्वस्थ्य जिन्दगानी’ को नारालाई मूर्तरुप दिन कालिकाबासीलाई सर्वसुलभ र गुणस्तरीय खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराइने विषयलाई नीतिमा समेटिएको छ । कृषि, पशुपालन, उद्यम र पर्यटनबाट आयआर्जन र रोजगार, शिक्षा स्वास्थ्य र पूर्वाधार विकास गरी जीवनस्तरमा सुधार गर्ने मूल नारा नीति तथा कार्यक्रममा तर्जुमा गरिएको छ ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर रेग्मीले कालिका नगरबासी समक्ष निर्वाचनको समयमा गरेका अधिकांश बाचा पूरा गर्ने क्रममा रहेको बताएका छन् । उनले भनेका छन्, ‘लामो समय लाग्ने विषयहरुमा कार्यान्वयनको जग बसेको छ । धेरै सिकाई तथा रचनात्मक सुभावहरु प्राप्त गरेका छौं । नगरबासीको घर आँगनमा नगर सरकारको उपस्थिति जनाई नगर सरकारप्रति भरोसा तथा विश्वास जित्ने प्रयत्न गरेका छौं ।’ नगरपालिकाका गतिविधि र कामकारबाहीलाई थप पारदर्शी बनाउनको लागि नीति तथा कार्यक्रममा निःशुल्क हटलाइन नम्बर मार्फत् जनगुनासो संकलन तथा सुनुवाई गरिने विषयलाई प्राथमिकता दिइएको छ । जसको लागि ‘जनतासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको नीति छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ‘आर्थिक समृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार’ को नीति लिई खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य र मासुजन्य उत्पादनको वृद्धि गरी आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । कालिकाका किसानले उत्पादन गरेको उपजको संकलन तथा भण्डारको लागि संकलन केन्द्रहरुको स्थापना, चिस्यान केन्द्र तथा शीत भण्डार निर्माण र दिगो उपयोगमा सहयोग गरिने नगरपालिकाको योजना छ । पछिल्लो समयमा चितवनमा विषादीयुक्त खानाको प्रयोग बढ्दै गएको तथ्यलाई दृष्टिगत गरी कालिका नगरपालिकाले आज प्रस्तुत नीति तथा कार्यक्रममा ‘कालिकाको शान, विषादीमुक्त खानपान’ भन्ने नारा अगाडि सारेको छ । जसको लागि आफू पनि विषादी रहित खाने र अरुलाई पनि खुवाउँदै रासायनिक मलको खपत क्रमश ः घटाउँदै प्राङ्गारिक मलको प्रयोग गरी खेती खगर्न प्रोत्साहित गरिने नगरपालिकाको नीति छ ।

नगरपालिकाले गुणस्तरीय, प्रवधिमैत्री, रोजगारमूलक र समतामूलक तथा समावेशी शिक्षालाई विशेष प्राथमिकता दिने जनाएको छ । यसका लागि नगरपालिकाको ‘टिकाउने, सिकाउने र बिकाउने’ रणनीति छ । नगरसभामा उपमेयर बिमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्याय र अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>